कागवेनी नजिकैको त्यो एक्लो भट्टी
मुस्ताङ,कागबेनी नजिकै रहेको एक्लोभट्टीमा रहेको यहिं एक्लो भट्टीका नामबाट यस ठाउँको नाम नै ए्क्लो भट्टी (होटल) रहन गएको हो । यहाँ धेरै समयसम्म यहि एउटा मात्र भट्टी थियो । पछि यहाँ केही अन्य भट्टीहरु पनि थपिए । जब सडक सञ्जालमा जोमसोम र मुक्तिनाथ जोडियो । त्यसपछि यहाँको स्वरूप नै परिवर्तन भयो । पहिले तल्लो भागमा हिन्दुहरुको तिर्थस्थल कागवेनी थियो । वेनी भनेको नदीको संगम स्थल हो । मुक्तिनाथ क्षेत्रबाट बहेर आउने झोङ नदी र काली गण्डकी नदीको सगमस्थल कागबेनी हो । झोङ नदीमा मुक्तिनाथको १०८ धाराको पानी पनि मिसिने हुँदा पवित्र मान्ने गरिन्छ ।
राजमार्गमा नजोडिदा सम्म कालीगण्डकी तिरै तिर गएपछि सिधा गएर कागबेनी जान सकिन्थ्यो भने सिधै ठाडो उकालो चढेपछि एक्लो भट्टी पुगिन्थ्यो । एक्लो भट्टीमा केही बेर सुस्ताए पछि सम्म भूभाग हुँदै मुक्तिनाथ पुगिन्थ्यो । त्यस समय सम्म भूभागमा हामीले घोडा कुदाएका थियाै ।
अचेल यसठाउँमा सेल्फी प्वाइन्ट बनाइएको छ । कालीगण्डकीमा पाइने धार्मिक आस्था जोडिएको शालीग्राम बनाइएको छ । सेर्थाङका रुपमा प्रचलित यस ठाउँमा अहिले पनि सानो एक रेष्टुरेन्ट खोलिएको छ ।
करिव ३० वर्ष अगाडि हामी त्यो समय घोडामा गएका थियाै, कालीगण्डकी किनारबाट एक्लो भट्टीको उकालो लाग्दा घोडा पनि लरखराएको थियो । हिउँले गर्दा ढुङ्गा पनि चिप्लो भएको हुँदा घोडा काँप्दै खुट्टा टेक्दा हामी पनि डराएका थियाै । चार खुट्टे घोडाको एक खुट्टा चिप्लिए पनि तीन खुट्टाले अडिन सक्थ्यो । तर हामी चिप्लियाै भने सिधै तल कालीगण्डकी किनारमा पुग्दथ्याै ।
त्यही समय चिसो माैसममा बिहान एक्लो भट्टी पुगेपछि पारिलो घाममा बसेर कफी पिएका थियाै । त्यो चिसो हावा चलेको बिहान कफीले ज्यान तातो बनाएर हामी घोडा कुँदाउँदै रानीपाैवा तर्फ लागेका थियाै ।