त्यहाँनजिकै एउटा व्यक्तिले सानो औषधि पसल र चिया पसल पनि राखेको थियो। दुर्घटना भएपछि त्यहाँ मानिसले औषधि किन्न थाले र चिया पनि खानथाले। विस्तारै त्यो पसलको आकार पनि बढ्दै गयो। पछिल्लो ५ वर्षमा त त्यो सानो औषधि पसल अस्पतालमा परिवर्तन भइसकेको छ। अस्पतालको नाम नै सबैले 'दुर्घटना अस्पताल' राखिदिएका छन्। जनस्तरबाट राखिएको नाम चर्चित त हुने नै भयो। पछि त त्यहाँ एकतल्ले अस्पतालले नपुगेर ३–४ तल्ले भवन नै बन्यो। दुर्घटना गराउने बसका ड्राइभरलाई सुविधा र निःशुल्क उपचारको व्यवस्थाको थालनी भयो।
चौबीसै घण्टा उपचार सेवा दिनुपर्ने भएकाले धेरै स्वास्थ्यकर्मीको जरुरत पर्यो्। सडक दुर्घटनामा परेका घाइते, तिनका परिवार, स्वास्थ्यकर्मीलगायतको चहलपहलले नजिकै चियापसल, फलफूल पसल, पत्रिका पसल, मनोरञ्जन प्रदायक पसल आदि सबै धमाधाम खुल्न थाले र ती क्रमशः चल्न पनि थाले। दुर्घटनाग्रस्त क्षेत्र देशको एउटा ठूलो व्यापारिक केन्द्र बन्यो। आक्कलझुक्कल र थोरैमात्र दुर्घटना हुने कतिपय देशका स्वास्थ्यकर्मी पनि त्यस दुर्घटना अस्पतालमा आएर सिक्न थाले। त्यसपछि त झन् वरिपरिका बिरामी पनि विदेशी डाक्टर छन् भनेर आउँदै जचाउन थाले। दुर्घटना अस्पतालको नाम त देशको कुनाकुनामा फैलियो।
कुनैकुनै ड्राइभर-खलासी त त्यस क्षेत्रमा आउँदा गाडी अलि बिस्तारै चलाएर दुर्घटना नगर्दा दुर्घटना अस्पतालका मालिकले त्यो बस ड्राइभर र खलासीलाई बोलाएर …विशेष प्याकेज' दिएर त्यो ठाउँमा उनीहरूको बस पनि दुर्घटना गराउन आग्रह गर्न थाले। ड्राइभर र खलासीको २०–२० लाखको बीमा पनि गरिदिए। दुर्घटना अस्पताल मालिकका भाइले चाहिँ त्यहीँ ३ तारे होटल चलाउँथे। उनले पनि ड्राइभर र खलासीलाई दुर्घटना गरेवापत् मासुभात सित्तैमा दिएर पुरस्कार दिने आश्वासन दिए। अनि त के चाहियो धमाधम बस दुर्घटना हुनथाल्यो। त्यो ठाउँले दुर्घटनामा 'रेकर्ड' नै राख्यो।
यस्तो भएपछि अब त अति भयो भनेर नागरिक समाजले आवाज उठाउन थाल्यो। सरकारले त्यो दुर्घटनाग्रस्त क्षेत्रको सडक मर्मत गर्ने कार्यक्रम ल्याउने विचार गर्योल। त्यस दुर्घटना गाउँमा त्यो विचारले मात्रै पनि ठूलो खैलाबैला मच्चियो। यसरी बाटो राम्रो बनायो र त्यहाँ दुर्घटना हुन छाड्यो भने त हाम्रो जीविकाको आधार नै समाप्त हुन्छ। परिवारको बिचल्ली हुन्छ, त्यस्तो चर्चित गाउँको शोभा नै हराउँछ। त्यहाँ काम गर्ने स्वास्थ्यकर्मी सबै नै बेरोजगार हुन्छन्। करोडाँैको हिसाबकिताब राख्ने चार्टर्ड एकाउन्टेट पनि काम नपाएर बेरोजगार हुन्छन्। झन् अविकतिस गाउँका व्यक्तिले काम पाएको र त्यस ठाउँमा चिया पसल चलाएर बालबालिकालाई पढाउने तथा लालनपालन गर्ने महिलाको त मुखको गाँस नै खोसिन्छ। त्यसैले सरकारले कुनै पनि हालतमा यस दुर्घटना क्षेत्रलाई सुधार गर्ने काम गर्नु हुँदैन। यो त राष्ट्रिय महत्वको ठाउँ हो। बाहिरबाट स्वास्थ्यकर्मी आएर काम गर्दा कति नाम बढेको छ। दुर्घटनाग्रस्त क्षेत्रलाई त बनाउनै हुँदैन, बरु सकिन्छ भने नेपालका अन्य भागमा पनि 'दुर्घटना कुना' भनेर सडक बनाउनुपर्छ।' गाउँका गन्यमान्य व्यक्ति मिलेर एउटा समिति बनाएर सरकारलाई यस्तो निवेदन गरे।
त्यस्तो अनुरोध गर्न जाँदा उनीहरू एउटा ठूलो र सुविधासम्पन्न बस चढेर गए। पाँच तारे होटलमा बसेर तिनले सरकारी अधिकारीसँग छलफल गरे। भोड्का, मम, चाउमिन खाँदै अति राम्रो वातावरणमा छलफल भयो। तात्तातो मासु र पुलाउको भोजनपछि आइसिक्रम खाँदै छलफल भयो र दुर्घटना गाउँका गन्यमान्य व्यक्तिहरूले खाममा हालेर सरकारी अधिकारीलाई केही उपहार पनि दिए। सरकारी कर्मचारीले आफ्नो रिपोर्टमा लेखे- 'दुर्घटना क्षेत्रमा अहिले सुधार गर्नु आवश्यक छैन। त्यहाँ सुधार गर्दा धेरै समस्या पर्ने देखिएकाले हाल त्यहाँको बाटो नबनाउने निर्णय गरिएको छ। त्यहाँको सडकमा कुनै पनि खालका सुधार गर्दा स्थानीयबासिन्दाबाट ठूलै विरोधको सामना सरकारले गर्नुपर्ने हुन्छ।' यस कुराले भोलिपल्टको अखबारको प्रथम पृष्ठमा स्थान पायो।
यो देखेर देशका इञ्जिनियर र राजनीतिक दलका नेताका पत्नीहरूले भने- 'त्यसरी दिनहुँ मानिस मरिरहँदा पनि दुर्घटना हुने बाटोलाई नबनाउँदा त आपत् पर्ला नि! हामी पनि त्यही बाटोमा हिँड्नु पर्ला कुनै दिन।' जवाफमा नेता र इञ्जिनियरहरूले भने- 'यस्तो मुर्ख कुरा नगर तिमीहरू। तिम्रा सन्तान बसमा हिँड्नुपर्छ? हामी कि त हेलिकप्टरमा जान्छौँ कि त विदेशी महँगो गाडीमा चढ्छौँ, किन पिर गर्नुपर्योर? हामीलाई दुर्घटना अस्पताल र त्यहाँको तीन तारे होटलले सेयर पनि दिने भएको छ। पिर गर्नु पर्दैन, हाम्रो त दुवै हातमा लड्डु छ।' आफ्ना पतिको कुरा सुनेपछि नेता र इञ्जिनियर पत्नीहरूको चित्त बुझ्यो। उनीहरू बेलुकाको पार्टीमा जान लिपिस्टिक लगाउन थाले र अस्पतालमा आफ्नो कोको नातागोतालाई काम दिन सकिन्छ विचार गर्न थाले। त्यसपछि त्यो दुर्घटना अस्पतालमा विभिन्न दलका नेता, डन, विदेशी शक्तिको पनि हालीमुहाली हुन सुरु भयो।
दुर्घटनाग्रस्त क्षेत्र अब कहिल्यै पनि सुधार गर्ननपर्ने भनेर संसद्बाट पास भयो। संविधानमा पनि त्यसको लागि विशेष व्यवस्था गरेर दुर्घटनाग्रस्त क्षेत्रलाई सुधार गर्नुपर्ने भयो भने संसद्को दुईतिहाइले मतदान गर्नुपर्ने प्रावधान बन्यो। दुर्घटना अस्पताल दुर्घटना गाउँको बारेमा अध्ययन भएर किताब पनि निस्किन थाले। अब त कसैले पनि त्यस ठाउँलाई सुधार्नु पर्ने, सडक बनाउनु पर्ने भनेर छलफलसम्म पनि गर्दैन। राजनीतिक दलको नै छत्रछायामा आनन्दसँग बस दुर्घटना हुन पाएको छ। मानिसहरू पीडित भएर अस्पताल गइ नै राख्छन्। बिरामी अस्पतालमा र कुरुवा तिनका होटेलमा खाना खाई नै रहन्छन्। र, अस्पताल तथा होटलको उन्नति भई नै रहन्छ। अब त नेताहरू दुर्घटना अस्पतालबाट आएको आफ्नो सेयरको पैसा पनि त्यहीँ राख्न थालेका छन्। किनभने त्यहाँ एउटा अन्तर्राष्ट्रियस्तरको बैंक पनि खुलेको छ।
दुर्घटना अस्पतालका शाखा देशका विभिन्न भागमा खुलेपछि नेपालको जनसंख्या पनि नियन्त्रण भएको छ। दीवा वा रात्रिबसमा चढ्नेहरू गरिव, मुर्ख भएकाले उनीहरूको संख्या कम भएपछि देशमा अशिक्षा र पछौटेपन पनि घटेको छ। नेपालको यो विकास देखेर दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रले पनि दुर्घटना अस्पताल खोल्ने तयारी गरेको विषयमा समाचार आएको छ।