"के छ रबिन?" मैले उ तर्फ मेरो हात बढाउँदै स्वागत गरें।
उस्ले पनि हात मिलायो।
"मलाई चिन्या हो?" रबिन सँगै उभिएकी स्त्रीले नमस्कार गर्दै मलाई सोधी।
"ओहो! मेघना?" मैले उस्को नमस्कारको उत्तर दिंदै भनें।
रबिन र उ दुबै जना मुस्कुराउँदै थिए।
बैठक कोठामा पस्दा पस्दै मेघनाले सोधी, "कसरी चिन्नु भो मलाई दीप दाई, पैलेई थाह थ्यो हो?"
"अहिल्या कुरा पैलेई थाह पाउने भैदेको भए म किन यस्तो हुन्थें नी --" मैले हाँस्दै भनें।
हामी बैठक कोठामा एकले अर्कालाई हेर्दै थिम। लामो समय पछि भेट भएको थियो। बैठक कोठा जुनेली रात झै थ्यो। हाम्रो खुशीमा उज्यालो। चन्द्रमा भने मेघना थिई। उस्को सुन्दरता झन धेरै निखारिएको रहेछ। उ एकदमै राम्री देखिन्थी।
रबिन र मेघनाको बिहे भरखरै जस्तो भएको रहेछ। मेघना अमेरीका आएकि त दुई महिना पनि भएको रहेनछ। रबिनले आफु पि-एच-डी मा लागेको कुरा सुनायो। भलाकुसारी भए। रमाईलो त्यति बेला त्यै कोठामा हामी सँग निर्धक्क बसेको थ्यो।
"तपाईँले बनाको हो खाना?" खाने बेलामा मेघनाले सोधी।
"मलाई त पकाउन अल्छि लाग्छ, यसो बेपार होला भनेर हुटेल खोलेर बस्या छन देशीहरु--बेला बेला उद्धार गर्दिन्छु म चैं--आज पनि त्यै गर्देको" मैले भाको कुरा भनें।
"भोलीको डिनर चैं म बनाउँछु है दीपदाई?" मेघना ले सोधी।
"किन दु:ख गर्ने?" मैले सोधें।
"हैन म दु:ख गर्छु, रहरले गर्ने दु:खमा सुख हुन्छ नी -- है?" उस्ले फेरी सोधी।
भैगो भन्या मानिन अनि मैले "लौ त उसो भए म भाँडा धस्काईदिम्ला" भनें।
"म पनि मद्दत गर्छु नी धस्काउन" रबिनले थप्यो।
मैले "पर्दैन" भन्या उस्ले "घराँ मेरो पेसै यही हो -- दुई दिन बाहीर फेर जाँदा बानी बिगार्न भएन नी -- " भन्यो।
मेघना हाँसी।
"ल ठिक छ हामी दुई जना धस्काम्ला" मैले भनें।
"काँ दुईजना मात्रै-- आदित्यलाई पनि धस्काउन लाउनु पर्छ।" रबिनले भन्यो।
"को आदित्य?" म अलमिलिएँ।
रबिन र मेघनाले हेराहेर गरे। अनि मेघनाले म तिर हेरेर अलि गम्भीर भएर भनी "साथी" अनि तुरुन्तै हाँस्दै सोधी "अनि तपाईंको साथिको के छ नी हालखबर?"
"को?" मैले सोधें।
"त्यै सोझो चैं" मेघनाले भनी।
"ए, बाङ्गे -- म टक्क अडें--" सायद रबिन पनि त्यहीँ भएर होला--
"त्यो सानोगौचरमा बुवा र म वाकिङ्गमा फर्स्ट टाईम जाँदा उस्ले म तिर हेरेर बल छोड्या अनि सबैले गोल भयो भनेर उ सँग उ रिसा अनि उ चै मेरो अगाडी सबैले उस्लाई बाङ्गे बाङ्गे भनेर गाली गरे भनेर रिसाको देखि लिएर पछि मलाई दिक्क पार्या सम्म सबै सुनाछु मैले रबिनलाई" मेघनाले मेरो बाटो सजिलो पार्दी।
"अँ बाङ्गेको मस्ति छ क्या रे" मैले भनें।
"ठुल्मुवाँ कहाँ पनि धेरै चोटी आ छ नी बाङ्गे, हैन?" रबिनले सोध्यो। मैले "हो" भनें। बाङ्गे म सँग धेरै चोटी गा छ मेरो मामाघर।
"उस्ले राम्रो गरीरा छ क्यारे" रबिनले भन्यो।
"पाडो चढेर हिन्छ" मेघनाले थपी।
"पाडो चढेर हिन्छ रे? पैला पैला मधेस तिर भैसी चढथे क्यारे मान्छे-- अचेल उ काठमाडौंमा पाडो चढ्छ?" म छक्क परें।
मेघना त मुर्छै पर्ला जस्तो गरेर हाँसी। रबिन पनि पहिला त अलमलियो अनि पछि हाँस्न थाल्यो।
हाँसो सँगै मेघनाले भनी "पाडो हो त -- प्राडो चढछ क्या" -- रबिनले थप्यो "टोयोटाको एस यू भि हो"
अनि चैं मलाई पनि हाँस उठ्यो।
"अनि आदित्य भन्या चै को नी?" मैले रबिन तिर हेर्दै सोधें।
उस्ले केही भनेन बरु मेघना तिर हेर्यो। अनि मेघनालाई हेरेर मैले सोधें "मैले चिन्या छ?"
"उस्लाई त होईन उस्की श्रीमतीलाई चिन्या छ तपाईँले" मेघनाले भनी।
"को?" मैले सोधें।
"क्षितिज" उस्ले मेरा आँखामा हेरेर भनी।
"को रे?" मेरो मन झिलिक्क भयो।
"क्षितिज" उस्ले फेरी भनी। उस्को अनुहारमा मुस्कान र गाम्भिर्य दुईटै मिसिएका थिए। रबिन चुपचाप थियो।
"मैले रबिनलाई तपाईँहरुको बारेमा पनि सबै भनेको छु" मेघनाले सुनाई।
"आदित्य मात्रै आउने?" मैले सोधें।
"हैन क्षितिज पनि" मेघनाले भनी।
"क्षितिजहरुलाई पनि बोलाउन मन छ मलाई भोलि डिनरमा" मेघनाले भनी।
मलाई लाग्यो मेघना जिस्कीराछे म सँग। क्षितिज मेरै शहरमा भएको भए उस्को र मेरो कुनै न कुनै ठाउँमा भेट हुँदैन थ्यो र?
"कसरी त मैले अहिले सम्म भेट्या छैन, यहीँ भएको भए?" मैले सोधें।
"आदित्य त यहाँ आईराख्छ--। यस पटक क्षितिज पनि आछे। कस्तो धनी सँग बे गर्या छे तपाईलाई थाहै छैन।" मेघनाले भनी।
म त सुनेको सुनेई भएँ।
"तपाइँले भैगो भन्नु हुन्छ भने, म बोलाउँदिन" मेघनाले सायद मैले केही नभनेकोले होला भनी।
"हैन मलाई त केही छैन, उस्लाई सोध्नु पर्दैन?" मैले मेघनालाई सोधें।
"उस्लाई मैले सोधी सकें -- " मेघनाले भनी।
"के-- सोध्या?" मेरो मनमस्तिस्कमा अनेक कुराहरु आईराथे।
"हामी दीपदाई कहाँ, जान ला --तिमीहरु पनि त्यै हुने रहेछौ-- हामी भेटम न भनेर"
"अनि?" मैले सोधें।
उस्ले "हुन्छ" भनी।
"तिमिले मनाको हो?" मेघनालाई सोधें।
"उस्ले तपाईंलाई चै मनाउन भनेकी थिई बरु" मेघना हाँसी।
मैले "हुन्छ" भनिदिएँ। बाढीको खहरे बनेको थियो मन मेरो। अनि पानी दर्किदो थ्यो।
रबिनले म नजिकै आएर भन्यो "भोली चैं हिन्दी सिनेमा लाईभ हेर्न पाईने भो" अनि उस्को बियरको बोतल उठाउँदै मेघनाको वाईनको ग्लास र मेरो पनि सिसी तिर हेर्दै थप्यो" चिअर्स"
"चुरोट पनि तान्ने हैन त?" मैले सोधें।
..........