[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 226889 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-24-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रोले क्या घुरेकोनी त है, चेलीको एन्ट्री कहिले हुन्छ जिम्माल, अनी हाम्रो मदनवा र नेत्रे कहिले आउने हो फिलिम मा।
 
Posted on 06-25-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी- :पि :डि धन्यवाद्।

चेली नानी- धन्यवाद्

नेत्रे- धेरै धेरै धन्यवाद् मन परेकोमा। हो नि कुम्ले त साह्रै सोझो अझ के के गर्ने हो।

ठूल्दाई- लोल अषेश नाग रे!हाहाहा तासमा जितियो कि हारियो अलि पछि थाहा होला!

सान्नानी- लोल! हाहाहाहाह हरिलाइ बजाउँदा बडि बिल्डर कुखुरा चोर्दा चंखे जस्तो रे हाहाहा।

कुम्ले- धन्यवाद्! गर्नुहुन्न नेपेदाईले गालि। बरु पढ्दै मुसुमुसु हाँसिराख्नु भा होला।

बिस्टे- भनेसि, सम्धिज्यूको पनि अम्मल रहेछ!

बिर्खे माइला- थुक्क माथि देखि पढ्दै आएको आफ्नै नाम पो परेछ।

लहरे- धन्यबाद्। चिन्तै छैन नलिखुट्टो बिमा गर्या छ मैले!

पर्वते- हाम्लाई नि थाहा छ के गर्न गएको थियौ भनेर।

प्रेरणा- :पि :डि, धन्यवाद्!

नेप्चि भाउजु- धन्यवाद्। जोगाएर राख्ननुस है कुखुराहरु!

क्रेजि- हो नि कुम्ले त हरिप छ नि। खास एजेन्ट ००९ हो नि!

नेप्चे- हो नि तिम्रो नि एन्ट्रि हो, अहिले पो भारि बोकेर जान लाग्या आयो त बेचेर फर्केपछि पैसाले लोडेड भएर आएको दामि हुन्छ, बरु रिट्ठेलाई जस्तो पर्ला होस गर्नु।

हर्के- पकाउन त हुन्थ्यो तर पुन्टे बुढाले सुइँको पाए भने निलिखुट्टा प्रेशर कुकुरमा सिट्ठि लगाएर गलाइदेलान भन्ने डर।

सबैलाई एक मुष्ट धन्यवाद्!


 
Posted on 06-25-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चेलीको एन्ट्री कहिले हुन्छ जिम्माल"

हर्क दाइ, म त मेन हिरो भर लाष्ट मा आउने हो नि!! " जब जब अन्याय र अत्याचारले  सीमा नाघ्छ अनि ............ माटो बोल्छ ! माटो बोल्छ ! माटो बोल्छ!! " भन्दै !!! कुम्ले ब्रोलाई लास्ट डिफिट गर्न नि त हो !!!  


 
Posted on 06-25-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन्तै छैन नलिखुट्टो बिमा गर्या छ मैले!

बिमा गर्या रैछौ , ल बुढी पुर्याएछ -
अब भाँच्दा अफ्सोच नहुने भयो - पैसो आएछी जिम्बाल्नी नि खुशी हुने - पैसो देखेछी महादेवको पनि तीन नेत्रे भन्थे -
के भने मैले - नेत्रेको नाउँ कहाँ बाट आयो यहाँ - महादेव को तीन वटा नेत्रे रे लोल लोल,


 
Posted on 06-25-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा छोटो भाग-

 

रिट्ठेलाई सम्पूर्ण ब्रम्हान्ड घुमेको जस्तो लाग्दै थियो। टाउकोभित्र कतै तिखो दुखाई थियो र तिघ्राका मासुहरु गलेका थिए! बिउँझिए पनि उसलाई आँखा खोल्न मन लागिरहेको थिएन। छातिमा पनि कतै भित्र  पिडा महसुर गर्दै थियो। बिस्तारै आँखा खोल्यो, झलमल्ल बिहानको उज्यालोमा मक्किएको दलिन उसको आँखा अगाडि आयो। टाउकोको दुखाई झन तीव्र भयो। उसले गिदी हल्लिएको अनुमान गर्यो।

धोक्न नि बेसरि धोकेछु डरको सुरमा!

मनमनै बोल्दै जिऊ तन्कायो!

हर्के र दीप नि पसारिराका होलान्! कति बजो कुन्नि?

यति भन्दै बिस्तारै दुखाइले मुख बिगार्दै पल्याक पुलुक दायाँ बायाँ हेर्यो।

कोठामा ऊ मात्रै थियो र बाहिर कतै कुकुर भुकेको र केटाकेटिहरु कराएको कल्याङमल्याङ आवाज आइरहेको थियो।

एक पटक जिऊ मजाले तन्कायो र हिजो रातीको बारेमा सोच्न थाल्यो।

अचानक उसले हिजोको कमाई सोच्यो र जुरुक्क उठेर पटुकातिर हात र नजर एकै पटक बढायो। पटुकाको गाँठो खुलेको थियो र उसका सबै पैसा गायब थिए।

नराम्रो संग आत्तियो। कम्मरमा मुजा परेर बेरिएको र अझै सुनिनसकेको सुरुवाल भित्र सम्म हात कोचेर पैसाको पोको खोज्यो। यता उता हेर्यो र आत्तिएको स्वरमा आवाज लगायो-

हर्केss! ए हर्केsss!”

उठेछ जँड्या!

तलबाट हर्के बोलेको सुनियो।

ओइ हर्के माथि आइज, लौन बित्याँस परो!

एक त हिजो राति देखि नै दशा लागेको त्यसमाथि हिजोको रक्सीले सम्पूर्ण जिऊलाई असर गरेको र अहिले अचानक दुख गरेर फलाएको मकै दिनभरि बेचेको कमाई हराउँदा रिट्ठे दुख: र अत्यासले ढल्न मात्र सकेको थिएन। उसको शायद आत्मा नै काँप्दै थियो।

हन के भो? आकाशै खसो कि के हो?

हर्केले लिस्नोको माथिल्लो खुड्किलोबाट कोठामा पाइला राख्दै सोध्यो।

लौन मेरो सपै पैसा कसैले चोरेछ! यि याइँ पटुकामा पोको पारेर राख्या थेँ!

हर्के आएको देखेर झन आत्तिँदै लगभग रोएको स्वरमा रिट्ठेले पटुका छाम्दै भन्यो, कोठैमा कतै खस्यो कि भनेर यता उता हेर्न थाल्यो।

कता खसालिस त? होस एक पैसाको छैन तँ बजियाको एत्रो लाठे भैसक्दा पनि!

हर्केले सहानुभूती दिने हिसाबले रिट्ठेको पटुका मा पोको खोजे जस्तो गर्दै भन्यो।

लौन नि म के गरुँ अब!

रिट्ठे रोइहाल्यो आखिर।

कता खसालिस् त? न त्यो हिजोराति तेरा खप्परमा हामफाल्ने ज्यानमाराले लओ?

हर्केले रुँदै गरेको रिट्ठेको अनुहार हेर्दै निर्दोश पारामा सोध्यो।

रिट्ठेले रुन्चे अनुहार लाउँदै केहि सोचे जस्तो गर्यो र भन्यो-

हइन हइन तो ज्यानमारा भागेसि छाम्या थेँ याइँ थो पैसा!!

कि तो किचकन्नि देखेर दौडिँदा खसालिस ए बजिया?

हर्केले अर्को सम्भावना ओकल्यो।

रिट्ठेले फेरि केहि सोचे जस्तो गर्यो र भन्यो-

तेसपछि नि खस्या छइन, मइँले नछामे नि खस्या छइन, तेस्तो बलियो पोको बना थेँ! लौ न नि कता गयो मेरो पइसो?

त्यति भनेर रिट्ठे फेरि छटपटिँदै रुन थाल्यो।

किचकन्नि देखेपछि पनि पैसा नखसेको कुरा रिट्ठेले दृढतापूर्वक भनेको सुनेर हर्केको मनमा एकछिनलाई चिसो पस्यो।

अचानक, रिट्ठेका आँखा ठुला भए!

तल! डोको, घुम राख्या ठामतिर परो कि?!

हत्त न पत्त लिस्नो तिर बढ्दै रिट्ठेले भन्यो र ओर्लियो।

हर्के नि पछिपछि लाग्यो।

तल पैसा कसरि होस्। निकै बेर रिट्ठेले यताउता हेर्यो। गुन्द्रि पल्टायो होला करिव ३-४ पटक, भित्ताका सपै खोपाहरु समेत हेर्न भ्यायो। बाहिर आँगनमा धेरै पटक घुम्यो तर पैसा कसरि भेटियोस।

हर्के ढोकाको संघारमा उभिएर रिट्ठे छट्पटिएको हेर्दै थियो।

मेरा हिसापले तइँले पइसा बाटैमा कतै खसालिस् हेर् रिट्ठे! अब याँ आर खस्या भ यतै हुन्तो, हाम्ले देख्या भ नि राख्दिन्थेम्, तइँले पइसा बाटैमा खसालिस ल, म लेखेर दिन्छु!

रिट्ठे थुचुक्क आँगनमा धुलोमै बस्यो र शोकमग्न भयो।

त्यो पैसाले गर्नु पर्ने कामहरु धेरै थिए!

कैले साहुको सामानको दुइ सय रुपियाँ आजै नतिरे त्यो बाटो नहिँडे नि हुन्थ्यो। उसले कैले साहुको छुच्चो बोलि सम्झियो। अस्ति मात्र त्यहि पसलको बाटो हुँदै पँधेरामा नुहाउन जाँदा सबै गाउँलेलाई सुनाएर पैसा मागेको थियो र त्यो भन्दा पनि दुखको कुरा त्यतिबेला बसन्ती पनि पसलमै थिइन; नेप्चि ठुलिआमाकहाँ बस्न गाउँ आएकि थिइन् र आमाछोरी पसलमै केहि किन्दै थिए। रिट्ठेले बसन्तीको अगाडि आफ्नो भएको इज्जत सपै नाङ्गो भएको महशुस गर्दै मनमा इख राखेर मकै बेचेर फर्कनासाथ तिर्ने बाचा गर्दै नतिरे एउटा बाबुको छोरो नभएको कसम खाएको थियो। त्यसपछिको कैले साहुको बोलि र उसको खिस्याउने हाँसो उसलाई सम्झन पनि मन थिएन र ऊ सकेसम्म छिटो कैलेसाहुको अगाडि सबै पैसा पछार्न चाहन्थ्यो।

गाउँले सबैको ब्याड हरियो भैसकेको थियो भने कतिले रोपाइँ समेत गरिसकेका थिए। रिट्ठेको ब्याड राख्ने बिऊ किन्नै थियो र त्यसको लागि पैसा चाहिन्थ्यो। हरिया मकै सबै बेच्नलाई अझै एक हप्ता वा पन्ध्र दिन लाग्ने पक्का थियो र उ ब्याड राख्न एकदिन पनि ढिलो गर्न चाहँदैनथ्यो।

रिट्ठेको अगि नै घुमेको टाउको झन घुम्न थाल्यो।

उसलाई पैसा कता हरायो भन्दा पनि त्यो पैसा हराऊनाले अब उसले पाउने दुखको आभाषले छोप्दै थियो।

रिट्ठे सोच्दै थियो र हर्के टुलुटुलु उभिएर रिट्ठेलाई हेर्दै थियो।

हर्केलाई एक मन त सबै कुरा भनेर पैसा फिर्ता गर्दिउँ बिचराको भन्ने लागेको थियो, तर अर्कोतिर हात आइसकेको तेत्रो पैसा त्यसै किन मिल्काउनु भन्ने पर्यो साथ साथै यसो भनेमा उसले दीप जस्तो रिसाहाको झटारो भेट्ने पक्का थियो र रिट्ठेले पनि सबै थाहा पायो भने नराम्रो हुने थियो।

अब क्यार्छस त रिट्ठे दशा ला रेछ तँलाई, अब पिर गरेर के काम!

हर्केले सम्झाउने पाराले भन्यो र खैनिको पाउच खोल्न थाल्यो।

रिट्ठे झोक्राएको झोक्रायै लामो सुस्केरा हाल्यो र मरेको चालले बिस्तारै उठ्दै भन्यो-

मइ गरिपलाई लाग्ने रेछ पर्भु दसा पनि! खै मेरो घुम र रित्तो डोको ले, नन्वाइ भएन न्वाउन जान्छु!

हर्के आज्ञापालक सेवक जस्तो छिटो छिटो खैनिको थुप्रो मुखमा हुलेर डोको र घुम लिन गयो।

लौ त म गइँ अब न्वउन!

हर्केको हातबाट डोको लिएर डोको बोक्दै घुम हातमा लिएर जाने तरखरमा देखियो रिट्ठे।

लौ लौ दीपे नि ब्यान पँधेरा तिरै जान्छु भनेर गा थो तेल्लाई नि भेट्लास उसले देख्या भ भन्ला नि!

रिट्ठे केहि नबोलि बाटो लाग्यो।

केहिबेर हिँडेपछि केहि सोच्यो।

त्यो बाटो कैले साउको पसल हुँदै पँधेरा सम्म पुग्दथ्यो। उसलाई त्यो बाटो हिँड्न मन लागेन। उसले ओरालो झरेर चौतारी मुनिको बाटो हुँदै पँधेरा पुग्ने बिचार बनायो र ओरालो झर्न थाल्यो।

रिट्ठेलाई अमिलो पानी घाँटि सम्म आएको आभाष भयो, र उसको पेट भतभति पोल्न थाल्यो। अघिल्लो रातको रक्सी र भोको पेट! सातो गएको र कमाई खोसिएको!! रिट्ठे बिरामि जस्तो देखिन थाल्यो। उसका पाइला हिँड्दै जाँदा थरथर काँप्दै थिए। टाउको भुरुङ जसरि घुमेको आभाष हुँदैथियो उसलाई।

रिट्ठे चौतारीबाट तेर्सो आउने बाटोमा मिसीन लाग्यो। त्यहाँबाट एकातिर गए चौतारी पुगिन्थ्यो र अर्को तिर गए पँधेरा।

खुट्टा कामेको कामेइ थियो।

रिट्ठेलाई थचक्क त्यहिँ भुइँमा लडौँ जस्तो लाग्न थाल्यो। लडखडाउँदै जसोतसो हिँड्दै थियो; ढ्वाङ्ग आवाजका साथ कोहि उसको शरीरमा जोडले ठोक्कियो! छातिमा कसैको कुहिनुको नराम्रो प्रहार महशुस गर्यो रिट्ठेले। एकछिनलाई आँखा अगाडि उज्यालो चम्केको जस्तो लाग्यो, डङरङ्ग भुईँमा लड्यो! तीव्र पिडा र कमजोरीले गर्दा उसलाई आँखा खोल्न गाह्रो भएको जस्तो लाग्यो। उसले बल गरेर आँखा खोल्ने कोशिस गर्यो। उसको आँखा सिधा घाममा पर्यो। ऊ उत्तानो परेर लडेको रहेछ! छातीमा झिरले घोचेको जस्तो नराम्रो पीडा महशुस गर्यो।उसलाई फेरि आँखा चिम्लिन मन लाग्यो। उसले अनुमान गर्यो शायद, उसलाई निद्रा लाग्दै छ, हैन ऊ शायद बेहोश हुँदैछ। उसका आँखा बिस्तारै बन्द हुन थाले। आँखा पुरै बन्द हुनु भन्दा अगाडि उसले आफू माथि कोहि उसलाई झुकेर हेरिरहेको चाल पायो। तिरमिर हुँदै आँखाका ढकनि लाग्दा उसले कुम्ले हातमा रातो भाले बोकेर झुकेर उसलाई हेरिरहेको देख्यो। रिट्ठे बेहोश भयो!!

------


 
Posted on 06-25-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा हाम्रो रिठ्ठे ब्रो!!!! तर जे परे नि, छोरा  मान्छे भए पछि, रोइ चैं हाल्नु नहुने नि

माल्दाइको लेखनको म अब आइन्दा तारिफ गर्दिन है, यति राम्रो लेखाइको शानमा लेखिन मेरा शब्दहरु नै लजाउँछन् भन्या!!


 
Posted on 06-25-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

runche riTThe!

Badmash kumle

dahichure harke ha ha ha


 
Posted on 06-25-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा रिट्ठे, कस्तो डाँकाहरुको फेला परेछ।
हर्क दाई पनि त्यसरी मान्छे ले दु:ख मनाउ गरेपछी त अलिकती भए पनि मन फर्किन पर्ने नि।
कुम्ले दाई अझ पनि त्यही कुखुरा चोरेर दौडदै
माइला दाई म पनि अब बयान गर्न नसक्ने भएं हजुरको लेखन शैलीको। शब्द नै छैनन म सँग। बरु हजुर सँग धेरै सिक्दैछु।
 
Posted on 06-25-08 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल फेरी भिलेन बनाएछौ मलाई त, अर्को भागमा चै यसो, राम्रो मान्छेको रोल पाउ है, केटी हरु हर्के भन्ने बितिक्कै तर्सिने बेला हुन लागि सक्यो आहिलेको रोल ले। यसो राम्रो रोल पाये, केटी हरुले कम से कम, हर्के सो स्वीट भन्थे कि अरु नभनेनी।

लौ जिम्माल लेख्दै गरौ है, मेरो कानले यू आर स्वीट हर्के भन्ने सुन्न पावोश तेसैको प्रतीछ्या मा।


 
Posted on 06-25-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के, त्यस्तो पैसा चोर्नी लाई पनि 'सो स्विट' भने देखिन हामी जस्ता लाई के भन्नि भनेर शब्द खोज्नै गार्हो होला नि फेरी
बिचरा रिठ्ठेको माया लाएर आयो, बाटैमा ढलेछ, अब आफ्नै साथी हो जानु पर्‍यो रिठ्ठे कहाँ तिर
 
Posted on 06-25-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते दाई तिमी हेर्दइ जाउ जिम्मालले अर्को कथामा मलाई सो स्वीट हर्के भन्ने बनाउछ ।
 
Posted on 06-25-08 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज त मेरै पालो आको रइछन्त !

कथामा आफ्नो अवस्था देखेर क्या माया लागेर आयो यार !  अब अर्को भागमा चाँही बेहोसी बाट उठेर हर्के र दीप लाई ब्रुस ली किक हानेको देखाइदिनु है जिम्माल बा?

साझाका सबै हिट हिट कथाकार (क्रेजी, दीपीका, हाम्रो ठुल्दाइ, प्रेरणा अनी अरु)  हरु को पनि भेला भा' रइछ ! अब यही धागोमा सबैले आ आफ्नो सौगात छोड्ने हो कि त?

जिम्माल बा को बयान त प्रतक्ष्य भेट घाट मै गर्न नसकेको, अहिले के सकिन्छ र !


 
Posted on 06-25-08 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्वो च्वो रिट्ठे - कस्तो रोएको - केहीछैन रिट्ठे छोर्देउ
म जित्यो भने जितौरी दिउला.
हर्के को चालचलन माथि मलाई पहिलै शन्का थियो - अब दीप को संगत गरेछी यस्तै हो-

फेरी पर्वते आएर किन करा यहाँ - रातबिरात अर्का को घरको छानामा के गर्न गा नि ,
कुरा गर्न त माथि चढ्नु नपर्ने हो - अनी केही गरेको छैन भने किन टाप कस्नु पर्ने -
एस्तो त सोझो -

आफु त हेर ठुल्दाइ को पैसा जित्ने हो - तर किन किन जित्दैन जस्तो लागिराछ -
कोइ कोइ ले खेल्न पाछैन, जितौरी मागिराछ - अब एसरी आश गरेर बसेछी जित्छ त


 
Posted on 06-26-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेलि- तारीफ गर्न पर्दैन कथा पढे पुग्छ!

क्रेजी- अरु भन्दा नि मलाई दहिचिउरे भन्या दामि लाग्यो हाहाहा।

दिपीका- हरे बयान गर्न पर्दैन कथा पढ न। लौ हो नि त,टाइम धेरै गएको छैन नि त, कुखुरा र सुरुवाल चोरेर हिँडिराख्दा रिट्ठे संग ठोक्किएको नि।

पर्वते- रिट्ठेलाई भेट्छ पर्वतेले अलि पछि।

हर्के- हेहेहहे हेर्दै जाउँ के हुन्छ।

रिट्ठे- कुरा त गरेको हो रिट्ठेले कसैले आफ्नै किसिमले सोचेर राखे हुन्छ नि केहि कुरा। तिम्रा नि दिन आउँछन्।

लहरे- तिमिले जित्छौ जस्तो छ पैसा जे होस।


सबैलाई धन्यवाद्


अर्को भाग एकैछिनमा-


 
Posted on 06-26-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग-

 

चुरोट बल्दै जाँदा लगभग हातको छाला छुन लागिसकेको थियो र खारिलो तथा नमिठो धुवाँ घुम्दै माथितिर बग्दै थियो। ठूल्दाई, आफूले दायाँ हातको चोर औँला र माझि औँलामा च्यापेको चुरोटबाट मानौ अनभिज्ञ थिए र बायाँ हातले समातेका २१ पत्तिमा कुनै बैज्ञानिक आफ्नो प्रयोगबाट आशा गरे अनुरुपको नतिजा नआएकोमा घोत्लिए जसरि घोत्लिराखेका थिए।

सुन्तले आफ्नो तासको पत्ति यता उता सार्दै थियो। दीप आफ्नो तासको पत्ति घोप्टयाएर भुइँमा राखेर, खुम्चिएका नोटहरु तह लाउनमा व्यस्त थियो। लहरेको  मुहार भने बिजुली बले जस्तो चम्किलो थियो। ऊ कतिबेला ठूल्दाईले तास फाल्लान र टिपेर बाजि मारौँ भन्ने दाऊमा थियो शायद; टुलुटुलु ठुल्दाई घोत्लिएको हेर्दै  थियो।

कैले साहु अब दुई हात पछि तासको भाडा आउनेमा ढुक्क थियो।

खै ठुल्दाई कति टोलाइरा, खुरुक्क एउडा फालम न गाँठे ग्याम गर्न हतार लाइसको!

अधैर्यतापूर्वक पँलेटि कसेर बसेको लहरेले दायाँ हातले आफ्नो दायाँ घुँडा समाउँदै घुँडा हल्लाएर बोल्यो।

पख् न कति हतार गरिरा? मिलाउन परेन पइला??? सुको माल परेन तेसको सत्तेनाश हुने!

ठूल्दाई अलि झर्केको जसरि बोले।

ब्यान नै बित्न लाओ भनेर सम्झा नि!

लहरे पहिला ठुल्दाई झर्किएकोमा सकपकायो र सबैको अनुहार हेर्दै उत्तर दियो।

आत्था नि बाबाssss, तेसकि….!”

अचानक ठुल्दाईलाई चुरोटको ठुटोले पोल्यो र मुखबाट फोहोर गालि निकाल्दै ठुटो हुत्त्याएर फालिदिए! ठुटो अलि पर कैले साहुले भर्खर बनाएको प्लास्टिकको पोकामा पर्यो।

कैले साहु हत्त न पत्त उठेर प्लास्टिकको प्याकेट उठायो र चुरोटको ठुटो बाहिर फाल्दै बोल्यो-

माल परेन भन्दइमा जता पायो तेतइ आगो हुर्याम्न भन नि ठूल्दाई, अइले तो ठुटो मेरा कपालमा पर्या भ के हुन्तो!

कैले साहुले छुचो मुखले राम्रो स्वर निकाल्यो तर स्वरमा मिसिएको रिस ठूल्दाईले चाल पाए। एक त दुई हात खेलिसक्दा पनि एउटा माल नपरेको अर्को तिर्दा तिर्दा भएको चालिस रुपियाँ सकिन लागेको बेला कैले साहुले बचन लाउँदा ठुल्दाईलाई रिस उठ्यो। तर प्रतक्षत: ठूल्दाईले रिसलाई दबाउनु उचित सम्झिए। उधारो लिएर जानु पर्ने थियो र कैले साहुलाई रिस उठाएमा उसले गाउँभरि ठूल्दाईको खेदो खन्ने पक्का थियो।

तास हेर्दा हेर्दा चुरोटले पोल्या चालै पाइनछु नक्कली हाँसो मुखमा ल्याउँदै ठूल्दाईले दाँत देखाए।

नक्कलि हाँसो नै मुखमा ल्याउँदै कैले साहुले पनि दाँत देखाएर हँसाइको उत्तर हँसाईमा दियो।

ठूल्दाईले तास फाले।

लहरेले तास झर्न नभ्याउँदै टिप्यो र खेल उसले जितेको घोषणा गर्यो।

ठुल्दाईले हतार हतार तासको थुप्रो पल्टाए र भित्रपट्टि भएको जोकर हेरे। हतार हतारै आफ्ना सबै २१ पत्ति हेरे, र पुरानो हाँडिको पडाछिपट्टिको भाग जस्तो अनुहार बनाए।

दीपले भएको तास फर्कायो र खुट्टा तेर्स्याएर पल्टियो।

कति खाइस्?

दीपले लहरेलाई प्रश्न गर्यो।

पख् माल गनम, तँ सँग कतिको छ?

दीपले उत्तर दिन नपाउँदै ३ वटा तास अगाडि पल्टाएर सुन्तले बोल्यो-

एता हेरम हेरि एता, ज्यान संग १० को छ!

ठूल्दाईले सुन्तलेलाई हेरे र आहत् भए।

ठूल्दाईको खल्तिमा भएको पैसाले माल तिर्न नपुग्ने निश्चित थियो!

आहत भावले ठूल्दाईले कैले साहुलाई हेरे।

कैले साहुले आफ्नो टाउको हल्का दायाँ काँधतिर ढल्काएर के गर्नु ठुल्दाई यस्तै हो भन्ने भाव देखायो।

सबैले माल गने।

ठुल्दाईले जम्मा गरेर २० रुपियाँ तिर्नु पर्ने भयो। उनले खल्ति टक्टक्याए, जम्मा १३ रुपयाँ निस्कियो।

जम्मा तेर बाँकि रेछ हे हे हे

ठूल्दाई फेरि दाँत देखाउँदै नक्कलि हाँसो हाँसे।

काँ तेस्तो भनेर पाइँछ, तासमा ठूल्दाई सुल्दाई भनिन्नन्!

लहरे जितेको पैसा नपाइने भयो भन्ने सम्झेर आत्तियो र अलि चर्को स्वरमा ठूल्दाईतिर हेरेर बोल्यो।

मैले कति तिर्न पर्ने भो ए लहरे स्वाँठ् अइ सोध्या सुनिनस? कि चाइन्न पइसो तँलाई?

दीपले पल्टेको पल्टेइ अलि कडा स्वरमा भन्यो र सुन्तलेलाई परेको माल हेर्दै उसलाई पैसा तिर्न थाल्यो।

दिपे तँ ठूल्दाईलाई रिन दे त दस रुप्पे!

लहरेले दीपलाई भन्यो।

दीपले लहरेलाई आँखा तर्दै भन्यो-

चोरेर ल्याएको पइसो छ र तँ बजियाले जोजोलाई भन्छस रिन तिर्दै हिन्ने?

दीपले रिसाएको भावमा लहरेलाई भन्यो र माल हिसाब गरेर पैसा गन्न थाल्यो।

ठूल्दाईको पैसा सकिएकोमा यता कैले साहु व्यग्र देखिन्थ्यो। पैसा सकिएपछि ठुल्दाई खेल्नेवाला थिएनन् र ठूल्दाईले नखेलेमा कसैले पनि तासको पुरा भाडा तिर्ने थिएनन्।

कैले साहुले मनमनै केहि सोच्यो र तन्किएर बस्यो।

खै ठुल्दाई तपाइँ मलाई २० रुप्पे दिनोस म दीपे र सुन्तले संग मिलाम्छु!

लहरेले ठूल्दाईलाई हेर्दै भन्यो।

सुन्तले लमतन्न परेर गुन्द्रिमै उत्तानो परेर आँखा चिम्लन थाल्यो।

दीप अघि जस्तै पल्टेर भावबिहिन आँखाले ठूल्दाईलाई हेर्न थाल्यो। लहरे अझै ठुल्दाईको उत्तर र पैसाको प्रतिक्षामा ठूल्दाईलाई हेर्दै थियो।

ठुल्दाईलाई उकुसमुकुस भयो।

तेर रुप्पे अइले लैजा बाँकि सात रुप्पे लाइस् ल तैँले!

ठूल्दाईले भन्न सक्ने यति थियो यति नै भने र १३ रुपियाँ लहरेको अगाडि भुइँमा तासमाथि राखिदिए। कैले साहुतिर हेरेर फेरि बोले-

खै तो मास र तेल पाए जान हुन्तो, घराँ जाहान कुरिरा होलि?

लाइस भनेर काँ पाइन्छ? जित्या पइसो चाइयो याँ खनखनि गनेर!

लहरे पैसा नआउला भनेर आत्तियो र भुइँको पैसा टिप्दै ठूल्दाईतिर हेरेर करायो।

दिप र सुन्तले लहरेलाई हेर्दै खिस्स्याएको हाँसो हाँस्न थाले।

अब रुन बेर मान्दैन बजिया हेहेहेहेहे!

दिपले प्वाक्क मुख फोर्यो।

यो सुनेर सुन्तले अलि जोडले हाँस्यो।

लहरे फेरि सकपकायो। दीप र सुन्तले नहाँसेको भए एकछिन कराएर भए पनि चुप लाग्नु पर्ने स्थिती देखेको थियो लहरेले, तर हाँसेर दीपले रुन्चे भनेर लहरेको अहम् उचाल्यो। अब उसलाई जसरि भए पनि ठूल्दाई संग पैसा लिएर देखाउनु पर्ने थियो र समय ऊ संग कम थियो। उसको दिमाग छिटो छिटो चल्न थाल्यो। पुलुक्क कैले साहु तिर फर्कियो र भन्यो-

कैले साउ हेरि अब २ ग्याम पछि तासको भाडा नि आम्छ तिम्लाई, ठुल्दाईलाई रिन दे भैहालो नि अलि अलि, सामान तेसै पनि उधारै लाने रे, के भो त?

कैले साहुको मनको कुरा लहरेले गर्दियो। कैले साहु मनमनै आफूले मुख फोर्न नपरेकोमा खुसि भयो र बोल्यो-

अब अरुलाई भा भ रिन त के उधारो नि दिने मुन्छे हइन म, तेइ नि आफ्नै ठुल्दाईलाई एउटा दोटा समान उधारो दिन र दुइ चार रुप्पे रिन दिन क्यार्न आइतबार कुर्न परो र मलाई!

ठूल्दाई अक्क न बक्क परे। एक मन त उनलाई लहरेले माने देखि, सामान लिएर घर जान पाए सबैकुरा ठिक हुन्थ्यो जस्तो लागेको थियो। तर कैले साहुले रिन नै दिने भनेपछि उनको मनमा कता कता अलि अलि पैसा भएर केहि हात खेल्न पाए गुमेको पैसा फिर्ता ल्याउने आश पलायो। कैले साहु तिर हेरेर भने-

लौ त नि अब लहरे मानेन, तेसइ गरम्। बरु पइला सामान पोको पार्दे खेल सकेर फुत्त हिँड्न हुन्तो!

कैले साहु अलिकता रमाएको जस्तो देखियो। बसेको ठाउँबाट उठेर पर कुनामा तेल राखेको भाँडोतिर जाँदै भन्यो-

ल म तेल भर्न लाएँ ठुल्दाई, बरु रिन कति दिम? तेल र मासको जोडेर सइ रुप्पे पुर्याम त?

ठूल्दाईलाई ठिकै लाग्यो कुरा। उनले सहमतिमा टाउको हल्लाए र दीपतिर हेरेर भने-

ल दीप बाउ, एउडा चुरोट सल्काउ त, दुइ सर्को तानेर तास बाँड्छु म, यसपालि कसो दाऊ नलाग्ला!

लहरे संतुष्ट देखिन्थ्यो। कैले साहु संतुष्ट देखिन्थ्यो। ठुल्दाई संतुष्ट तर व्यग्र देखिन्थे। दीप अल्छि देखिन्थ्यो र सुन्तले भावबिहिन देखिन्थ्यो।

 -----

 

गाग्री भित्र लानु पर्ने थियो तर थकाइले हो कि के ले हो नेप्चिले बाहिर पिँढिमै गाग्रि बिसाइन्। एक पटक बोझ हटेकोमा लामो सुस्केरा हालिन् र निधारको पसिना पुछिन्। भैँसि एकोहोरो कराएको कराएइ थियो।

कति कराउन सक्छस ए काल्? पख् कुँडो लेराम्छु अनि हसुर्लास!

यति भन्दै बिहान अँगेनामा राखेको कुँडो लिएर आऊने बिचारमा नेप्चि भित्र जान ढोकातिर लागिन् र अनायाशै केहि सम्झेर टक्क अडिइन, फेरि बाहिरपट्टि नै आइन् र बर्बराउन थालिन्-

हरे शिब शिब, आज भैँसी दुहेकै छैन! एसबेला भैसको, अब पइला कुँडो ख्वाउनु कि दुहुनु?

एकछिन किर्कर्तव्यबिमुढ भएर त्यत्तिकै टोलाइन र एकैछिनमा कुँडो खुवाउने मनसायले भित्र छिरिन्।

धुवाँ भरिएको रहेछ। केहि बेर गहिरो सुख्खा खोकि खोकिन् र अँगेना तिर बढिन्।

आगो बलेको पनि थिएन र निभेको पनि थिएन, त्यसैले दाउरा बाट पिरो धुवाँ पुत्ताइराखेको थियो।

नेप्चिको नजर अँगेनाबाट बाहिर रहेको चिसो कुँडेमा पुग्यो, उनको पारा चढेर आकाशमा पुग्यो! त्यसमाथि गाग्रि बोकेर उकालो आउँदाको थकाइ र पँधेरामा कुम्लेको बिग्रेको चाला देखेर आएको रिस त छँदैथियो।

यस्ता संग पनि  जिन्तखि जाला र पर्भु!

फत्फताउँदै उनि बाहिर निस्किन र गोठमा गएर पाडो फुकाउन थालिन्।

पाडो फुक्ने बित्तिकै बुर्कुसि मारेर दौडँदै भैसितिर गयो। भैँसि बाँ बाँ गरेर कराउन थाल्यो। नेप्चि एकटकले हेर्दै थिइन् भैँसि कराएको र पाडो उफ्रेर भैँसि नजिक गएको! मातृवात्सल्य देखेर एकछिनको लागि नेप्चिको रिस शान्त भयो। पाडो मुख हुत्त हुत्त हुत्याउँदै दुध चुस्दै थियो, भैँसि यता उता चल्दै पुछ्छर हल्लाउँदै थियो; शायद, आफ्नो संतानलाई दुध खुवाउन पाउँदा भैँसिलाई अपार संतुष्टी मिल्दै थियो!

एकछिन हेरेर नेप्चि भित्र गइन्। भित्र एउटा खामोमा किला ठोकेर सानो ढलौटको बाल्टिन झुन्ड्याइएको थियो। नेप्चिले बाल्टिन झिकिन् र बाहिर आइन्।

गाग्रिबाट बाल्टिनमा पानि हालेर बाल्टिन पखालिन्। अलिकता पानी बाल्टिनमा फेरि हालिन् र त्यो लिएर गोठतिर लागिन्। गोठको दलिन जस्तोमा बाल्टिन झुन्ड्याइन् र पाडोलाई भैँसि नजिकै तर पाडोले थुन् नभेट्ने ठाउँमा लगेर बाँधिन्। उठेर बाल्टिन ल्याइन र भैँसिको थुननिर टुकरुक्क बसिन्। आफ्ना दुबै तिघ्राले बाल्टिनलाई च्यापिन्, एक पटक बाल्टिनको पानीले भैँसिको थुन पखालिन् र दुवै हातका औँलाले भैँसि दुहुन थालिन्।

नेप्चिका औँलाले भैँसिको थुनहरु निचोर्दा दूधका धारा झर् झर् गर्दै नेप्चिले च्यापेको बाल्टिनमा पर्दै थिए। भैँसि अघि जस्तै बेलाबेलामा हल्का पुछ्छर हल्लाउँदै थियो। नजिकै भैँसिको आफ्नै पाडो थियो र शायद; आफूले चिनेको मान्छेलाई दुध ख्वाएर आफ्नो पाडो नजिक बस्ने सम्झौतामा खुसि थियो।

दूध नि दिनदिनै घट्दो छ!

दूध दुहिसकेर गोठबाट बाहिर आउँदै नेप्चि बर्बराईन्।

दुधको बाल्टिन लिएर भित्र छिरिन्,  बाल्टिन एकातिर राखिन् र बाहिर आइन्।

एसबेला भैसको सिरिमानको अत्तोपत्तो छइन!

बाहिर पिँढिमै एकछिन थकाई मार्दै फेरि बर्बराईन्।

कि तास खेल्न लागे हाम्रा सिरिमान्? के भर भयो र? खेल्न थालेसि बुडि सुडि सपै बिर्सिन्छन्!

नेप्चि जति सोच्दै जान्थिन त्यति नै उनको मुहारमा रिस फैलिँदै जान्थ्यो।

पानसइ रुप्पे कठै! च्व च्व च्व!”

नेप्चिले थाहा पाएकी र ठुल्दाईले हारेको ठुलो रकम सम्झँदै नेप्चि रिस बढाउन थालिन्।

पिँढिमा बस्दै सोच्दै जाँदा नेप्चिलाई ठुल्दाई, जुवाडे, भर नभएको, माया नगर्ने र घरको मतलब नभएको लाग्न थाल्यो। रिसमा शायद थकाई धेरै मिसिएको थियो क्यारे उनको मुहार झन बिग्रियो। लामो सुस्केरा हाल्दै बर्बराइन-

ऐयाsss एकछिन पल्टिन परो!

उनलाई एकछिन आराम गर्न मन लाग्यो, जुरुक्क उठिन् र भित्र छिरिन्।

उनको नजर फेरि अँगेना बाहिरको कुँडोमा पर्यो। कुनाबाट अलिकता दाउरा ल्याएर अँगेनामा थपिन् र कुँडो बसालिन्। माथि कोठामा गइन् र खाटमा पल्टिइन्।

हजार काम भएको घरमा उनलाई आराम काहाँ थियो र! फेरि सोच्न थालिन्-

आजको घाम नि ओइलाओ भने मसेउरा कुइन्छ, मास लिन गा बुडा अइले सम्म आम्न पर्दैन त?

उनले आफैँलाई प्रश्न गरिन्।

आज के तिउन खाने होला? साग नि अस्ति भर्खर टिप्या अइले लागेकै छैन! बरु गुन्द्रुक थो कि बाँकि?...ए! गुन्द्रुक नि तो तलको त उइलेइ सिद्ध्या नि साँच्चि! माइताटि ल्याको तोरिको गुन्द्रुक कता राखेँ बरु? तल भान्सामा त छैन! खाटामुनि राखेँ कि सन्दुकमा राखेँ?

उनि सोच्दै गइन् र जुरुक्क उठिन्। उनले माइतिबाट ल्याएको गुन्द्रुकको पोको राखेको ठाउँ सोच्न थालिन्।

संदुकमै राखेँ क्यार!

मनमनै भन्दै उनले संदुकको साँचो लिइन् र संदुक खोल्न थालिन्।

संदुकमा यताउता नजर दौडाइन् गुन्द्रुकको पोको त्यता थिएन। उनि संदुक बन्द गर्न लागिन्। अचानक उनको आँखिभौँ अलिकता खुम्चिए। उनको ढाकाको थैलीको मुख अलिकता खुलेको थियो र थैली खुकुरीको दाबमाथि थियो।

थिचेर राख्या थैली क्यारि माथि आयो?

उनले मनमनै प्रश्न गरिन् र हतार हतार थैली खोल्न थालिन्।

पैसाको बिटोमा उनले मजाले कसेर बाँधेको धागो खुकुलो थियो। उनले धागो फुकाइन् र पैसा गन्न थालिन्।

उनले धेरै कुरा बुझिन्!

उनको अघि शान्त नभैसककेको रिसले आकाश छोयो। उनले आफूले घरमा गर्नु पर्ने धेरै कामहरु सोचिन्। उनले उनलाई दिनदिनै काम गर्दा लाग्ने थकाई सोचिन्। उनले ठूल्दाईलाई सोचिन् र उनलाई ठूल्दाई भर्खरको ठिटा भन्दा पनि अल्लारे लाग्यो। उनको चित्त दुख्दै गयो। जति चित्त दुख्दै बढ्दै थियो त्यति नै रिस पनि चुलिँदै थियो। थैली त्यत्तिकै सन्दुकमा राखेर ढ्याप्प सन्दुकको ढोका बन्द गरिन्। ठूलो आवाजका साथ सन्दुकको ढोका लाग्यो।

यस्तो तालले हुँदइन! यस्ता सिरिमान भएसि क्यार्नु!

उनि कोठाबाट बाहिर निस्किइन र तल ओर्लिन्।

बाहिर निस्कने बेलामा ढोकापछाडि राखेको कुचो उठाइन् र ढोका ढप्क्याएर फटाफट हिँड्न थालिन्। उनलाई कतिबेला कैले साहुको पसल पुगौँ जस्तो भैरहेको थियो।

 

------


 
Posted on 06-26-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

( speechless bhayeko )
 
Posted on 06-26-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ कुन सट्को हिजै टांसी सक्नु भा रछ कथा आफु भने कुरेर बस्दा बस्दा, अहिले एसो हेर्छु त एक लम्बर मा आ देखेर आर पो पढ्न पा।
बिचार ओ रिट्ठे को माया लार आयो मलाई नि, तेत्रो रिन तिर्नु रछ, ब्याड पनि खाली रछ ल हेर के गर्छ बिचार ओ ले , म दिउ भने आफ्नो कौडी नभर नातिनी लाई किलिप किन्दिन सक्या छैन।
कुम्ले लाई ब्ल्याक मेल गर हो रिट्ठे अब। भाले बेचेर आधी आधी गर्ने अब।
सम्धी ज्यु के पिउनु हुन्छ हँ तपाईं त्यस्तो, एस्तो धुरन्धर कथाकार हुन्हुन्छ।
 
Posted on 06-26-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!!

 खुच्चिङ पर्ने भओ  अब बड चिलिम र तास भ'सि पुग्ने मान्छेलाई नेप्ची दिदीको रिस त्यसै त उठ्दैन क्या -


 
Posted on 06-26-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो, ठुल्दाइ ले भेट्ने भो जस्तै छ आज लौ जा त -
ब'बाल भेट्ने भो ल -

झन्डै जित्या पैसो नपाको - कस्तो टिरिक लाउनु पर्‍यो आफुले जित्या पैसो
पाउन पनि - सुन्तले र दीप देखी रिस त खुब उठ्या थ्यो आफुलाई - तर के
गरेन दुई दुई जना भर मात्र - सिङल सिङल भाभे देखाइदिन्थे,

अली पैसो त जित्यो - अब के गर्न होला त्यो पैसो ले 


 
Posted on 06-26-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए एउटा पढ्न नपाई अर्को नि अैसकेछ,
ठुल्दाइ ले भेट्ने भए अब, अनी नेप्ची भाउजु माईत होला नि अब।
लु सम्धी ज्यु अर्को भाग भोली सम्मा तयार होला नि, साह्रै मज अैइर्च।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters