***बाङ्गे नी हिन्यो म नी घर तिर लागें किताब च्यापेर। --***
अघि पसलमा देखेका पंक्तिहरु मात्रै होईन, किताबका अरु पानाहरुमा पनि अरु पंक्तिहरु छरीएका रहेछन। आँखाले बडो जतनले उठाएँ ति शब्दहरुलाई, मायाले स्पर्श गरें उस्का ती बयानहरुलाई अनि आस्था पूर्बक सजाएँ ति भावहरुलाई मनको गहीराई भित्र।
कौसी भरी गमला थिए, अनि गमलामा थरी थरी फुलहरु फुलेका। यस्तो लाग्थ्यो मानौं समय बिहानीका ती पलहरुका हो जुन सूर्योदयको केही पल अघि क्षितिजमा स्थिर थिए। म थिएँ अनि मेरो स्पर्शमा क्षितिज थिई।
"दीप" चिने चिने जस्तो आबाज थ्यो तर क्षितिजको हैन। मैले वरीपरी हेरें त्यो बगैंचा जस्तो कौसीमा म र क्षितिज बाहेक अरु कोही थिएन।
"दीप" फेरी आबाज आयो।
मैले फ्याट्टै चिनें--यो आबाज त बाङ्गेको हो। "बेला न कुबेला---" रिस उठेर् आयो। क्षितिज पनि देखिन, अनि अरु केही पनि।
"फुटाल्दिम झ्याल कि खोल्छस?" बाङ्गेको स्वर मेरो कानमै आएर ठोक्कियो। यसो घडी हेर्या चार बज्न आँटेको रहेछ। निन्द्राकै सुरमा झ्याल खोलें। बाहिर अध्यारै थियो। बाङ्गे ठिंग उभी रा।
"के गर्न आधाराताँ मर्या तँ यहाँ?" मलाई पटक्कै चित्त बुझ्या थेन उ त्यसरी आएर मेरो र क्षितिजको साथ भाँडेको।
"के को आधारात? घाम झुल्किन लाईसक्यो-- ल ल उठ" उस्ले भन्यो।
"रातभर बाहिरै छस कि के हो तँ? कस्तो राम्रो सपना देखिरा बेलाँ --" मैले भन्दै थिएँ उस्ले "आफ्नो त सपना पनि छैन सपनामा आउने पनि छैनन अनि ढिलो सम्म के सुताई भो र --" भन्दै मेरो कुरा काट्यो।
"के गर्नु पर्यो यतिबेला?" मैले सोधें उस्लाई।
"के गर्नु पर्यो रे अझ? फुटबल खेल्न जाने भन्या हैन हिंजो?" उस्ले सम्झायो।
भन्या त हो तर यत्ति छिटो त भन्या थे न। त्यै पनि त्यो त हिंजोको कुरा। हिंजो मन लाग्या थ्यो जाने कुरा गरीयो आज मन थिएन आफुलाई।
"जान्न म त -- बरु एक निन्द्रा सुत्नु पर्यो--" मैले भन्दें।
"ल हेरम त कसरी जाँदैन रेछस -- अहिले म तेरो घराँ सबैलाई उठाई दिन्छु नी -- अस्ति देखी भन्या हैन आज देखि फेरी सुरु गर्ने खेल्न भनेर?" उ अलि झर्कियो। अनि थप्यो "अब बिपनामै भेटे पछि के खान सपनामा पर्खिनु पर्यो? ल --ल-- उठ-- बाहिर आईज"।
नउठी सुख थिएन। बेक्कारमा खेल्छु भन्या फुटबल सोच्दै ठिक परें। अनि बाहीर निस्किएँ। दशैको बेला आउन लागेको थ्यो। कुहीरोमा जिस्किदा ती शितहरु अनुभव गर्दा भने रमाईलो लाग्यो।
"तँ र म मात्रै?" मैले सोधें।
"हैन, ट्वाकलाई उठार आको म -- त्यसले झ्यालिन्चा, छ्याक, कुबेर, पुडके लाई लिएर आउँछ, हाम्ले चै बर्मु, सुपारी, बाघ:, हल्दार र गुरुलाई लिएर जाने हो।"
जस्लाई उठाउन गयो जान्न भन्ने पहिला फेरी किच किच गरेर उठायो गर्दै सबै भेला भैयो भगबती थान अगाडी। बिहानको पौने पाँच जति बजेको थ्यो होला त्यहाँ बाट सानोगौचर तिर लाग्दा।
एक हुल हामी फुटबल लिएर त्यो बिहान अनेक थरी गफ हाँक्दै सानोगौचर तिर
लाग्दा रमाईलो भा थ्यो। हामी बिहान बिहान त्यहाँ फुटबल खेल्न जान्थिम तर झण्डै झण्डै एक महिना देखि त्यो क्रम रोकिएको थ्यो।
टंगाल स्कुलबाट देब्रे लागेर बालमन्दिरको पूर्ब पर्खाल छेउको बाटो हुँदै पुगियो सानोगौचर। फुटबल चौर आधि सम्म देखिन्थ्यो। अर्को तिर कुहीरोले छेकेको थ्यो। एउटा गोल पोस्ट बाट अर्को गोल पोस्ट देखिन्न थ्यो। को को कता तिर बाट खेल्ने त्यो भागबण्डा भयो। हाम्रो पट्टी गुरु थ्यो किपर, म ब्याक्की बस्या थें। खेल सुरु भै सक्या थ्यो। हाम्रो साईड अलि बलियो परेछ क्यारे बल अर्को साईडमै धेरै हुन्थ्यो। म र गुरु फुर्सद। गुरु मान्छे सोझो थ्यो। तरुनीको गफ एकलौटी गर्न पाईन्थ्यो त्यो सँग।
खेल एक छिन सुरु भै सके पछि बाउ छोरी जस्ता देखिने दुई जना छीरे फिल्डमा। दुबै जना ट्र्याक सुटमा। उनीहरु फिल्डको चक्कर लाउन थाले। बाउ पनि संगै थिए र मात्रै नत्र मैले त छोरी चै मात्रै देख्थें। देब्रे तिर बाट उनीहरुले चक्कर लाउँदा म देब्रे तिरको ब्याक्की हुन्थें दाईने तिर उनीहरु आईपुग्दा म दाईने तिरको ब्याक्की हुन्थें। अब एक्लो ब्याक्की-- फिल्ड त कभर गर्नै पर्यो नी। के गर्ने?
--बल आयो भने आयो हैन भने बाउ छोरी कति बेला आउलान आफ्नो साईडको फिल्ड तिर जस्तो हुन थाल्या थ्यो आफुलाई। उनीहरुले तिन चार चक्कर जति ला थे होलान -- बाङ्गे खुट्टा खोच्याउँदै आयो। उ हाम्रो साईडको एउटा फरबार्ड थ्यो।
केही सोध्नु अघि नै "खुट्टा मडकियो जस्तो छ यार -- " भन्यो। अनि गुरुलाई गएर "-- ल गुरु एक छिन अगाडी जा त --म यहाँ रेस्ट गर्छु -- गोल्कीको आज खासै काम छैन" भन्यो। गुरु बत्तियो अगाडी।
बाङ्गे म तिर आयो। खोच्याउने त निक्कै कम भए जस्तो थ्यो छिनको छिनै। म नेर आएर भन्यो "क्या बुलेट है त्यो केटी?--- बाउ चै बरु एक निन्द्रा अरु सुतेर आ भे नी हुने नी---"
"तेरो खुट्टा सुट्टा केई मडक्या छैन हो कि हैन ल भन --" मैले सोधे उस्लाई।
"अब के गर्ने त -- अगाडी कुदेर केही हेर्नै पाईएन राम्रो सँग -- त्यस्तो राम्रो केटी चौराँ घुमीराछे म चै खाली ढाडीया बल कति लखेटीरहने त?"
एक छिन भा थ्यो केटी र बाउ हाम्रो साईड तिर आउँदै थिए, त्यै बेलाँ बल पनि आयो। "भाग्गेमा नभए पछि यस्तो हुन्छ--" बाङ्गे फतफताउँदै अलि अलि खोच्याको जस्तो गरेर पुग्यो पोस्ट तिर -- म पनि लागें आफ्नो काममा। कर्नल भो। एउटाले केरा सट कर्नल हान्छु भनेर गा थ्यो नङ सट हानेछ क्यारे उ पनि भुतुक्कै बल पनि आउट भो। त्यती गर्दा होर्दा केटीहरु अर्को तिर पुगीहाले। त्यो राउण्ड त्यतिकै भो।
अर्को राउण्ड ठीटीहरु आउँदा बल सेन्टर तिरै थ्यो। बाङ्गेलाई टेन्सन हाम्रो डि एरिया तिर बल आउने र पोस्ट छेउ तरुनी आउने बेला एकै पर्ला भनेर। "म अगाडी हुन्जेल, बल यता सेन्टर सम्म नी आउँदैन थ्यो अहिले हेरन अहिले" बाङ्गे झर्किदै थ्यो।
म बल तिर लागें बाङ्गे केटी तिर लागेछ। सबैले एकै स्वर्मा "ए बाङ्गे ए!" भनेर कराउँदा त बाङ्गे पोस्ट बाट उती पर केटी हेर्दै। फेरी खोच्याएको जस्तो नी गर्नु पर्ने। उ पोस्टाँ आउनु अघि नै बल छिरी हाल्यो। एका तिर बाट "गोल" भन्या घन्कियो अर्को तिर बाट बाङ्गे का बाङ्गे भन्या सुनियो। "के हेरीरा थिस बाङ्गे तँ?" "पोस्ट छोडेर काँ मर्न गा थिस बाङ्गे?" "ए यो बाङ्गे गोल्की हुँदैन" ---यस्तै यस्तै।
"तिमीहरुको बाउको नाम छैन र बाङ्गे बाङ्गे भनी रा?" बाङ्गे पनि तात्यो। त्यस्तो तरुनीको अगाडी बाङ्गे बाङ्गे भने पछि तात्ने नै भो। ठिटी चै मुस्काउँदै थिई बाउ चै हाम्लाई नियाल्दै थ्यो।
सेन्टर चलाई सक्या थ्यो। बल अर्को तिर थ्यो। बाङ्गे अझै रिसाई रा। अरु त गै हाले म परे उस्को राग सुन्ने मा। एक छिन पछि बाउ छोरी आए। बाङ्गे पोस्टमै थ्यो यस पटक। केटी बाङ्गे छेउ आईपुग्नु अघि नै हल्का हाँस्दै थिई। उस्ले बाङ्गेलाई हेर्दा बाङ्गे पनि उसैलाई हेर्दै थ्यो। केटीले मुस्कान कायमै राखी। बाङ्गे पनि खुसी भयो। केटी अगाडी पुगे पछि फर्केर पनि हेरी।
"ठीटीले क्या सलिड स्माइला दीई नी मलाई देखिस? लुक्स पनि दिई नी --क्या लभली डेडली नी --" बाङ्गे फुरुङ्ग थ्यो। उस्को रिस हरायो।
पछि थाह भयो त्यो केटीको नाम मेघना रे। हल्दार ले भन्या। फर्किदा बाङ्गेले त्यो केटीको कुरा झिकेको मात्रै के थ्यो हल्दारले चेतावनी दिदै भन्यो "मेरो सानीमाको छोरी हो मेघना -- बुझिस हैन?"