प्रधानमन्त्री पुष्पकमल दाहालले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको बताएका छन् । उनले कतारी राजा अमिरको आसन्न नेपाल भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिए ।
एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई 'गणतन्त्र गौरव' बाट सम्मान गर्ने भएको छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले विभिन्न प्रस्तावहरू पारित गर्दै भण्डारीलाई सम्मान प्रदान गर्ने निर्णय पनि गरेको हो ।
गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियारले फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ भने त्यति नै बिगो कायम गरी साेही बमोजिम जरिवाना असुल उपर गर्न माग दाबी पेश गरेको छ ।
बाँफिकोट गाउँपालिका–३ निपाने गाउँ नजिकैको जंगलमा आगलागी हुँदा स्थानीय ७० वर्षीया बुदी कामीको ज्यान गएको छ । जंगलमा लागेको आगो घरतर्फ आएपछि निभाउन खोज्दा जलेर उनको ज्यान गएको हो ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको १३ दिन बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । मन्त्रालयहरू चैत २१ गतेदेखि मन्त्रीविहीन छन् । सत्ता साझेदार दलसँग भागबन्डाको कुरा नमिलेपछि मुख्यमन्त्रीले सरकार एक्लै चलाउँदै आएका छन् ।