फर्मा एक्स्पोमा औषधि उद्योगको सन्देश– राज्यको साथ पाए स्वदेशमै बढ्छ उत्पादन - Sajha Mobile
SAJHA MOBILE
फर्मा एक्स्पोमा औषधि उद्योगको सन्देश– राज्यको साथ पाए स्वदेशमै बढ्छ उत्पादन
Posts 1 · Viewed 268 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालन भएको तीन दिने ‘नेपाल फर्मा एक्स्पो २०२६’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ फागुन २८ देखि ३० गतेसम्म सञ्चालन भएको यस एक्स्पोले नेपाली औषधि उद्योगको वर्तमान अवस्था, प्रविधिगत प्रगति तथा विश्वबजारमा विकसित भइरहेका नयाँ उपकरण र प्रविधिहरूलाई एकै थलोमा प्रस्तुत गरेको छ।

यसअघि चितवनमा आयोजना हुँदै आएको फर्मा एक्स्पो यसपटक भने काठमाडौंमा आयोजना गरिएको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा करिब १२ हजारभन्दा बढीले अवलोकन गरेका छन्। प्रदर्शनीमा २०० भन्दा बढी स्टाल राखिएका थिए, जसमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहेको आयोजकले जनाएको छ। प्रदर्शनीमा औषधि उत्पादनसँग सम्बन्धित कच्चा पदार्थ, प्याकेजिङ सामग्री, प्रयोगशाला उपकरण तथा अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिएको थियो।


नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीका अनुसार एक्स्पोको मुख्य उद्देश्य नेपालमा औषधि उत्पादनका लागि प्रयोग भइरहेका प्रविधि र विश्वमा विकास भइरहेका नयाँ प्रविधिबीचको सम्बन्ध र प्रगति देखाउनु हो। उनका अनुसार आम नागरिकले आफूले प्रयोग गर्ने औषधि कसरी उत्पादन हुन्छ भन्ने कुरा प्रत्यक्ष हेर्न पाउने उद्देश्यले एक्स्पोमा प्रवेश निःशुल्क गरिएको थियो।

“हामीले नेपालमा कस्तो प्रविधिले औषधि उत्पादन गरिरहेका छौं र विश्व परिवेशमा कस्ता प्रविधिहरू विकास भएका छन् भन्ने देखाउन एक्स्पो आयोजना गरेका हौं,” उनले भने। अधिकारीले प्रविधिगत नविनता मात्र पर्याप्त नभई नीतिगत सुधार पनि आवश्यक रहेको उल्लेख गर्दै आगामी सरकारले औषधि क्षेत्रलाई विशेष क्षेत्रका रूपमा घोषणा गरी लगानी बढाउने नीति लिनुपर्ने धारणा राखे। उनले यस एक्स्पोमार्फत पहिलोपटक ‘पीआर कोटिङ’ प्रविधि सार्वजनिक गरिएको पनि जानकारी दिए।

फर्मा एक्स्पोका समन्वयक तथा एपोनका महासचिव सन्तोष बरालले नेपालमा औषधि उत्पादन प्रविधि उल्लेखनीय रूपमा अघि बढेको बताए। उनका अनुसार पहिलो फर्मा एक्स्पोदेखि दशौं संस्करणसम्म आइपुग्दा प्रयोगशाला, केमिकल र उत्पादन प्रविधिमा उल्लेखनीय प्रगति भएको देखिन्छ।

“पहिले औषधि उत्पादनमा धेरै जनशक्ति आवश्यक पर्थ्यो, अहिले आधुनिक मेशिनरी प्रयोगले उत्पादन प्रक्रिया सहज र प्रभावकारी बनेको छ,” बरालले भने। उनका अनुसार नेपालका औषधि उद्योगहरूले अहिले विश्वस्तरीय प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरिसकेका छन्, तर त्यसका लागि राज्यको सहयोग आवश्यक रहेको उनले बताए।


फर्मा उद्योगका प्रतिनिधिहरूले भने नीतिगत स्थिरता र सरकारी सहयोग भएमा नेपाली औषधि उद्योगले ठूलो सम्भावना हासिल गर्न सक्ने बताएका छन्। माग्नस फर्माका प्रवन्ध निर्देशक एसपी मास्केले औषधि उद्योगले रोजगारी सिर्जना र देशको अर्थतन्त्र बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

“नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता देखिएको छ, तर अब बन्ने नयाँ सरकारले नीतिगत स्थिरता ल्याए फर्मा क्षेत्रमा सकारात्मक प्रभाव पर्न सक्छ,” उनले भने। मास्केका अनुसार स्वदेशमै औषधि उत्पादन विस्तार गर्दै विदेशमा निर्यात गर्ने सम्भावना पनि रहेको छ। जसका लागि सरकारले बजार व्यवस्थापन र सीमा पारको विस्तारमा पहल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

मारुती फर्माका प्रवन्ध निर्देशक प्रभात रुंगटाले भने औषधि क्षेत्रको व्यवस्थापन सुधार आवश्यक रहेको बताए। उनका अनुसार औषधि व्यवस्था विभागमा दक्ष जनशक्तिको अभावले काम सुस्त हुने गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता छ।

“नेपालबाट औषधि निर्यातको सम्भावना धेरै छ,” उनले भने, “तर त्यसका लागि काउन्सिल गठन गरी काम अघि बढाउनुपर्छ र औषधि ऐनहरू पनि समयानुकूल परिमार्जन गर्न आवश्यक छ।” उनले विश्वका विभिन्न क्षेत्रमा भइरहेका युद्धका कारण कच्चा पदार्थको मूल्यवृद्धि हुँदा औषधि उत्पादनमा असर पर्न सक्ने जोखिम पनि औंल्याए।


फर्मा एक्स्पोका मिडिया कोर्डिनेटर शैलेश वैद्यले भने नेपाल अति कम विकसित मुलुक (एलडिसी) को श्रेणीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै गर्दा औषधि क्षेत्रमा नयाँ चुनौतीहरू देखा पर्न सक्ने बताए।

उनका अनुसार हालसम्म एलडिसी मुलुक भएकै कारण केही औषधिहरू तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध भइरहेका छन्। तर एलडिसीबाट बाहिरिएपछि पेटेन्ट र बौद्धिक सम्पत्ति सम्बन्धी कडा कानुनी व्यवस्था लागू हुनसक्ने भएकाले औषधिको मूल्यमा प्रभाव पर्न सक्ने सम्भावना छ।

“यदि बहुराष्ट्रिय औषधि कम्पनीहरूले पेटेन्ट अधिकार कडाइका साथ लागू गरे भने नेपालले धेरै औषधि महँगो मूल्यमा आयात गर्नुपर्ने अवस्था आउन सक्छ,” उनले भने। त्यसैले आगामी सरकारले समयमै स्पष्ट नीति बनाएर सर्वसाधारणलाई सस्तो र सहज रूपमा औषधि उपलब्ध गराउने वातावरण बनाउनुपर्ने उनले बताए।


ओएचएम फर्मास्यूटिकलका प्रवन्ध निर्देशक सुर्दशन खयागुलीले फर्मा एक्स्पोलाई औषधि क्षेत्रको ‘उत्सव’ जस्तै भएको टिप्पणी गरे। उनका अनुसार प्रदर्शनीले गुणस्तरीय औषधि स्वदेशमै उत्पादन भइरहेको भन्ने सन्देश जनमानसमा फैलाउन सहयोग गरेको छ।

“सरकारले अनावश्यक नीतिगत अवरोध हटाएर स्रोत र साधन सहज बनाएमा एक दशकभित्रै नेपालले ७० देखि ८० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्न सक्ने क्षमता राख्छ,” उनले भने।


नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष सुमितचन्द्र श्रेष्ठले फर्मा एक्स्पोले विशेषगरी विद्यार्थीहरूलाई औषधि उत्पादन प्रविधि बुझ्न महत्त्वपूर्ण अवसर दिएको बताए। उनका अनुसार विद्यार्थीहरू सामान्यतया किताबमा सीमित हुने भएकाले यस्तो प्रदर्शनीले व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुर्‍याउँछ।

त्यस्तै कोयस्ट फर्माका प्रवन्ध निर्देशक उमेशलाल श्रेष्ठले फर्मा एक्स्पोले औषधि उद्योग र सप्लायर्सबीच अन्तरक्रिया गर्ने महत्वपूर्ण अवसर सिर्जना गरेको बताए। उनका अनुसार सरकारले स्वदेशी उद्योगमुखी नीति ल्याए नेपाली औषधि उद्योगले अझ ठूलो फड्को मार्न सक्ने सम्भावना छ।


नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागको सहकार्यमा आयोजित यस एक्स्पोमा एचभ्याक्स गोल्ड स्पोन्सर, एलम्याक प्लेटिनम स्पोन्सर र प्यासिफिक ग्रुप डायमन्ड स्पोन्सर रहेका थिए।

एक्स्पोका एसोसिएट सदस्यहरूमा नेपाल फार्मेसी काउन्सिल, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, आयुर्वेद औषधि उत्पादक संघ नेपाल, नेपाल चिकित्सक संघ, नेपाल भेटेरिनरी एसोसिएशन, नेपाल औषधि व्यवसायी संघ, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएशन, एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल, नेपाल फर्मास्युटिकल एसोसिएशन, भेटेरिनरी केमिस्ट एन्ड ड्रगिष्ट एसोसिएशन अफ नेपाल, नेपाल आयुर्वेद ड्रगिस्ट एसोसिएशन, फार्मास्युटिकल डिलर एसोसिएशन अफ नेपाल तथा फार्मेसी एसोसिएशन अफ नेपाल रहेका छन्।



स्वास्थ्य डायरी
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 138
· Posts 1 · Viewed 268
· Posts 1 · Viewed 154
· Posts 1 · Viewed 296
· Posts 1 · Viewed 264
· Posts 2 · Viewed 513
· Posts 9 · Viewed 11788
· Posts 1 · Viewed 310
· Posts 1 · Viewed 313
· Posts 1 · Viewed 324



Travel Partners
Travel House Nepal