अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालसहितका अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
नेपालको इतिहासमा सम्भवतः बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो हो । मुख्यसचिवबाट अवकासमा गइसकेपछि त मुद्दामामिला भएका थिए । मुख्यसचिव पदमै हुँदा मुद्दा दायर भएको यो बाहेक अर्को मलाई जानकारीमा छैन ।
मन्त्रिपरिषद्द्वारा दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेका छन् । उनले सिफारिस फिर्ताको पत्र प्रधानमन्त्री कार्यालयमा बुझाइसकेका छन् ।
कांग्रेस सांसद आरजू राणा देउवाले सुदूरपश्चिममा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउन सरकारसँग माग गरेकी छन् । असार ३ गते एक किशोरीलाई छाउगोठमा आफन्तले बलात्कार गरेको प्रसंग उठाउँदै सांसद राणाले छाउगोठ भत्काउँदैमा कुप्रथा अन्त्य नहुने भएकाले जनचेतना जागरण अभियान चलाउनुपर्ने सुझाएकी हुन् ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आईतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने उल्लेख गरे ।