(यो सेतोपाटीमा प्रकाशित प्रिमियम स्टोरी हो। सदस्यहरूले मात्र पढ्न पाउने यो स्टोरी हामीले सेतोपाटीको ११औं वार्षिकोत्सवका अवसरमा केही दिनका लागि निःशुल्क पढ्न उपलब्ध गराएका छौं।) साधारण-असाधारण भरत तामाङ काठमाडौंको जनबहालमा सेलरोटी पकाएर बेच्थे। एकदिन एक जना साथीले उनको भिडिओ खिचे र सोधे, 'तेरो भिडिओ टिकटकमा हाल्दिम्!' 'अहँ,' भरतले छोटो जवाफ दिए। 'हालम् न हालम्, केही हुन्न,' साथीले जिद्दी गरे। भरत तै पनि मानेनन्। उनले नाइँ नाइँ भनिरहे, साथीले करकर गरिरहे। साथीको जोडबलका अगाडि भरतको केही जोड चलेन। उनले सेलरोटी पकाउँदै गरेको भिडिओ पहिलोचोटि टिकटकमा अपलोड भयो। आफ्नै भिडिओ देखेर भरत लाजले रातोपिरो भए। जग-हँसाइ भयो भनेर साथीसँग जंगिए। अबदेखि यस्तो काम कहिल्यै नगरेस् भनेर चेतावनी पनि दिए। त्यसै दिन जब उनी घर पुगे, मोबाइलमा नोटिफिकेसनको ओइरो थामिनसक्नु थियो। साथीले बलजफ्ती हालेको भिडिओ हज्जारौंले हेरिसकेका थिए। हज्जारौंले उनको भिडिओ मनपराएर लाइक गरिसकेका थिए। कमेन्ट गर्ने त कति कति! त्यसपछि त उल्कै भयो। जनबहालमा उनको पसल खोज्दै सेलरोटी खान आउनेहरू ह्वात्तै बढे। पहिले मुस्किलले दिनको डेढ सयवटा सेल बेच्ने भरतले दैनिक छ सयभन्दा बढी बेच्न थाले। उनलाई बिहानदेखि बेलुकीसम्मै भ्याइनभ्याइ भयो। यो दुई वर्षअघिको कुरा हो। यो घटनाबाट हौसिएका भरतले आफ्नो भिडिओ खिचेर आफैं टिकटकमा हाल्न थाले। जति धेरै भिडिओ हाल्थे, पसलमा ग्राहकको चाप उति बढ्थ्यो। एकदिन साथीहरूले सेलरोटी पकाउँदै गरेको लाइभ भिडिओ देखाउन सुझाए। जसै उनको भिडिओ लाइभ भयो, पहिलेभन्दा कयौं गुणा बढी मान्छे उनीसँग जोडिन पुगे। उनको लाइभमा दर्शक संख्या २७ हजारसम्म पुगेको रेकर्ड छ। यसरी टिकटक भिडिओ हेरेर उनको हातको सेलरोटी खान आउनेहरू सबै एउटै कुरा भन्थे, 'तपाईंको भिडिओ त भाइरल छ नि!' त्यस दिनबाट भरत तामाङको नाम फेरियो। उनलाई सबैले 'भाइरल भाइ' भन्न थाले। र, उनको पसलको नाउँ रह्यो — भाइरल सेलरोटी पसल। सामाजिक सञ्जालमा भाइरल हुनु एउटा कुरा; भाइरल भएपछि आफ्नो साख जोगाएर राख्नु वा त्यसलाई बढाउँदै लैजानु अर्को। भरत तामाङ वा 'भाइरल भाइ' यी दुवैमा असाधारण छन्। हेर्दा साधारण देखिने र सेलरोटीको 'साधारण' व्यवसाय गर्ने उनको व्यक्तित्व नै असाधारण छ। जीवनप्रति उनको उत्साह, कामप्रति उनको जाँगर, सेलरोटी खान आउने ग्राहकप्रति उनको समर्पण सबै असाधारण छन्। यिनै असाधारण गुणका कारण उनको व्यवसाय चम्किएको छ; उनको जिन्दगीले गति समातेको छ। टिकटकबाट ख्याति कमाएका २४ वर्षीय भरतले भिडिओ सँगसँगै आफ्नो हातको जादू नदेखाएका भए आज दुई वर्षपछि पनि उनको पसलमा सेलरोटी खाने ग्राहकहरूको उधूम भीड लाग्ने थिएन। उनको ख्याति पानीको फोकाझैं भुलुक्क उठ्थ्यो र मिलिक्कै बिलाइजान्थ्यो। तर उनले त्यसो हुन दिएनन्। भिडिओ हेरेर खोजी खोजी आउने ग्राहकहरूलाई भरतले सेलरोटीको यस्तो स्वाद चखाए, एकचोटि आएकाहरू दोहोर्याइ-तेहर्याइ आउन थाले। एक्लै आएकाहरू दुक्लै-तिक्लै आउन थाले। पसलमै आएर खाएकाहरूले प्याक गरेर घर पनि लग्न थाले। काठमाडौंका कुनाकाप्चादेखि र नेपाली मात्र नभएर विदेशी पर्यटकहरूसमेत धुइरिन थालेपछि जनबहाल चोक भरतको निम्ति साँघुरो भयो। त्यही बेला काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूले सडक व्यवसायीलाई धमाधम लखेट्न थालेपछि भरतलाई जनबहालमा बसेर सेल बेच्न गाह्रो पर्यो। करिब छ महिनाअघि उनी सडकबाट पसलमा सरे। इन्द्रचोकबाट असनतिर जाँदा जनबहाल नाघेर अलिकति अगाडि बढेपछि सडकको दायाँपट्टि बालकुमारी मन्दिर र बायाँपट्टि ऐतिहासिक 'पल्टन घर' छ। बाहिर भाँडा पसलहरूको लश्कर देखिने पल्टन घरको ढोकाबाट जसै भित्र छिर्नुहुन्छ, तपाईं एउटा गल्लीमा पुग्नुहुन्छ। त्यही गल्लीभित्र दायाँतिर पर्छ, भरत तामाङको भाइरल सेलरोटी पसल। यति विवरण पढेपछि तपाईंको दिमागमा पक्कै नक्सा बन्यो होला! नबनेको भए पनि केही छैन — पल्टन घर छेउछाउ पुगेर 'यहाँ भाइरल सेलरोटी पसल कहाँ छ' भनेर जो-कसैलाई सोध्नुहोस्, तपाईं ठ्याक्कै गन्तव्यमा पुग्नुहुन्छ! यो सेलरोटी पसलसँग हाम्रो पहिलो साक्षात्कार टिकटकले नै गराएको थियो। जति बेला नेपालमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको थिएन, एउटा तन्नेरी केटो हरेक दिनजसो टिकटक लाइभमा सेलरोटी पकाउँदै गरेका देखिन्थे। तपाईं पनि टिकटक चलाउनुहुन्थ्यो भने उनको लाइभ भिडिओ वा उनले टिकटकमा अपलोड गरेका अन्य भिडिओहरू देख्नुभएकै होला! 'जिम्बा ब्रो' नामको आइडीबाट लाइभ आउने भरत तामाङका तिनै भिडिओ हेरेर हामी एकदिन बिहान सोध्दै-खोज्दै उनको पसल पुगेका थियौं। टिकटक लाइभको तयारी गर्दै भरत तामाङ। तस्बिर: निशा भण्डारी/सेतोपाटी बिहान साढे ७ बजेको थियो। भरत छातीमा कालो एप्रोन र टाउकोमा निलो प्लास्टिकको टोपी लगाएर सेलरोटी पकाउँदै थिए। टिकटकमा लाइभ सुरू भइसकेको थियो। पसल वरिपरि पाँच-छ जना व्यक्ति चिया पिउँदै कराहीबाट भर्खर झिकेको तात्तातो सेल पर्खिरहेका थिए। भरत कहिले आफ्ना प्रत्यक्ष ग्राहकहरूसँग कुरा गर्थे, कहिले मोबाइल क्यामरातिर फर्केर अप्रत्यक्ष ग्राहकहरूसँग लाइभमा गफिन्थे। आमा गोमा उनलाई सेल पकाउन सघाउँदै थिइन्। छेउमा उनका दिदी र बहिनी आलु तरकारी बजार पुर्याउन दुनामा सजाउँदै थिए। हामी बस्दाबस्दै दस मिनेटमा पन्ध्र-बीस जना मान्छे आए। उनीहरूले त्यहीँ बसी बसी चिया र तातो सेल खाए। अलि बेरपछि भरत ठूलो ट्रेमा सेल राखेर जनबहालतिर निस्के। जनबहालको व्यस्त चोकमा सेल बेच्नेहरू अरू पनि थिए। तर जसै भरतले सडक किनार आफ्नो दोकान सजाए, मान्छेहरू अरू सेलवालालाई छाडेर उनकैमा झुम्मिए। भरतको सेल अरूको भन्दा महँगो छ। उनी प्रतिगोटा २५ रूपैयाँ लिन्छन्, जबकि अरूको सेल १५ मै पाइन्छ। तर ग्राहकहरूले भरतको सेललाई १० रूपैयाँ बढी तिर्न कुनै आनाकानी गरेनन्। उनको सेल हेर्दैमा राम्रो पनि थियो। अरूको सेल सानो र चिल्लो देखिन्थ्यो। भरतको भने बाहिर काँडा उठेका, भित्र खोक्रो, चिल्लोरहित र खाँदा चुरूमचुरूम गर्ने सेल थियो। आठ बजेतिर काठमाडौं महानगरका नगर प्रहरीहरू सिठ्ठी फुक्दै आए। भरत बेच्न बाँकी सेल बोकेर आफ्नो पसल फर्के। र, दिउँसोका लागि सेल पकाउन तल्लीन भए। यसबीच टिकटक लाइभ जारी थियो। लाइभमा कमेन्ट ओइरिएका ओइरियै थिए। भरतलाई भने जवाफ दिने फुर्सद थिएन। हामीलाई लाग्यो — यिनको फुर्सद कुर्न थाल्यो भने दिन बित्छ! त्यसैले उनको व्यस्तताबीच नै हामीले कुराकानीको सिलसिला अघि बढायौं र सोध्यौं, 'साह्रै भ्याइनभ्याइ पो हुँदो रहेछ है!' तातो तेलमाथि एकोहोरो हात घुमाएको घुमायै गरिरहेका भरतले पुलुक्क हामीतिर हेरे र बिस्तारै मुख पनि चलाउन थाले, 'यी देखिहाल्नुभो, तपाईंहरू यहाँ आएकै डेढ-दुई घन्टा हुन लागिसक्यो। एकछिन फुर्सदमा देख्नुभो त मलाई! यस्तै हुन्छु दिनभर।' 'यस्तोविधि भाइरल भएपछि कस्तो लाग्दैछ त?' उनी एकछिन चुप्प लागे। दुइटा सेल पकाए, अनि निकै सोचविचार गरेर भने, 'मैले खासै केही अनौठो काम त गरेको होइन। हाम्रा घरमा आमा-दिदीहरूले वर्षौंदेखि गर्दै आउनुभएकै काम हो। तर यो टिकटक भिडिओ भन्ने जात अचम्मकै हुँदो रहेछ। मेरो साधारण कामलाई पनि उधूमै हिट बनाइदियो।' यसो भन्दै गर्दा उनी पुलकित देखिएका थिए। 'पत्याउनुहुन्छ!' उनी भन्दै थिए, 'अचेल त काठमाडौं बाहिरबाट समेत मान्छेहरू मेरो पसल खोज्दै आउँछन्। टिकटक लाइभ हेरेदेखि तपाईंको सेल चाख्न मन लागेको थियो भन्छन् र एकैचोटिमा चार-पाँचवटा खाएर जान्छन्।' <p style="font-variant-numeric: inherit; font-variant-east-asian: inherit; font-variant-alternates: inherit; font-variant-position: inherit; font-stretch: inherit; line-height: inh
ktmpost · Apr 1, 2024 9:08 AM · 3,067 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion