सुरुची उप्रेती र स्मृती सापकोटा जेठ ३० पितृसत्ताका कुरा समय समयमा उठिरहन्छन्। यसलाई देख्दै, सुन्दै भोग्दै आएको सदियौं भइसक्यो। यसले हाम्रो समाजमा दह्रो जरा गाडेर बसेको छ। पितृसत्ता शक्ति हो, एक विशेषाधिकार हो जसको प्रयोग उत्थानका लागि नभई ज्यादातर दमनको लागि हुने गर्छ। महिलामाथि पुरुषको सामाजिक वर्चस्वको विस्तार पितृसत्ताको आधार हो। उत्थानको नाममा पुरुषलाई पनि निकै थिचेको छ पितृसत्ताले। 'तैँले कमाएर घर चलाउनु पर्छ' भनेर छोरालाई दबाब दिइन्छ। एक्लै सबैथोक धान्ने दबाब हुन्छ उसलाई। हाम्रो समाजले पुरुषलाई नेता र शक्तिको पर्यायका रूपमा हेर्दछ किनकि मान्छेले पुरुषलाई पत्याउने सम्भावना बढी हुन्छ। यसैले सधैं उनीहरु शिर्षमा हुन्छन्। महिलाहरू अधिक भावुक हुन्छन भन्ने जनविश्वास छ। त्यो किनभने समाजले जनमानसलाई त्यस तरिकाले सेट-अप गरेको छ। ढुङ्गे युगमा पुरुष शिकार गर्थे अनि महिला हतियार बनाउँथे भन्ने कथन पनि छ तर महिलालाई पुरुषको परिश्रम खानेको रुपमा मात्र हेरियो। युद्धकालमा, जब पुरुषहरू युद्धका लागि गए, महिलाहरू उनीहरूको स्थानमै छोडिए। त्यस समयमा महिलाहरूले आय-आर्जन पनि गरे। तर पुरूषहरू फर्किएपछि आय-आर्जनको पाटो पुनः पुरुषमै निहित भयो, अनि इतिहास यहाँसम्म आइपुग्यो। आज पितृसत्ताको वर्चस्व घरको भान्सादेखि अफिसको क्याबिनसम्म व्यापक छ। घरमा एउटा पितृसत्तासँग जुधेर निस्केकी छोरी अफिसमा अर्को पितृसत्तासँग जुध्छे। अझ विडम्बना त के छ भने भान्साबाट अफिससम्मको यात्रा तय गर्न अझै पनि उसले पितृसत्तासँग जुध्नैपर्छ। अधिकांश परिवारमा आज पनि खाना पकाउने जिम्मेवारी छोरीलाई नै जान्छ। 'ए छोरा, आज खाना तँ पका है' कहिल्यै भनिँदैन। तर 'आज पनि तँ नै पका है' छोरीलाई जहिल्यै भनिन्छ। मैले १३ वर्षसम्म खाना बनाउन नजान्दा '१३ वर्षकी भइसकी, अझै भात पकाउन जान्दिन' आमाले भनिरहनु भयो। तर सँगै १९ वर्षको दाजुले पनि नजान्दा आमाले केही गुनासो गर्नु भएन। छिमेकीका छोरीले नाङ्लोभरि चामल केलाउँदा उनीहरुले मलाई गिज्याए जस्तो लाग्थ्यो। हो, यहाँ नेर चुपचाप सिकाइयो खाना बनाउनु सीप नभई लैंगिक भूमिका हो भनेर। यही नै सिकाइयो- घरको काम छोरीको अनि घर छोराको भनेर। पितृसत्ताले अरु के दियो, के दिएन थाहा छैन तर घरै भित्रको लैंगिक विभेद यसैले उब्जायो। घरको साफसफाइ, भान्साको काम सबै सकेर सास फेर्न मात्र पाएकी हुन्छे छोरीले तब आवाज आँउछ, 'दाजु उठ्यो, चिया दे त।' के उसले आँफै बनाउदा हुदैंन र? दिदी/बहिनी थाकी होला, मैले यति मात्रै भएपनि सघाउनु पर्छ भनेर दाजु/भाइले पनि भन्दैनन्। मैले त अझ दाजुले नै गर्दा पनि गाली खाएकी छु। 'मेरो साथीको बहिनी योभन्दा सानी छे, तर पनि सबै काम गर्छे' भनेर दाजुले भनेपछि त आमाले मलाई डब्बल थर्काउनु भएको थियो। पितृसत्ताले सुटुक्क महिला पुरुष दुवैलाई विभेद गर्न र विभेद सहन सिकायो। मेरी साथी सुनाउँछे, 'दाजुका लुगा तारभरि सुकाइएको थियो, पानी पर्न आँटेकोले आमाले जा-जा दाजुका लुगा उठाइदे भन्नु भयो, म गएँ, उठाएँ। केही दिन पश्चात मैले मेरा लुगा उठाइदिन दाजुलाई भनेँ। दाजुबाट 'हुन्छ'को जवाफ आयो तर आमाले मलाई 'आफ्नो लुगा दाजुलाई उठाउन लाउछेस्' भन्दै कराउनु भयो।' किन सिकाइन्छ यसरी विभेद गर्न? पितृसत्ताले महिलालाई उर्जा दिने पुरुषलाई पनि पेलिरहन्छ। छोरीका कोठामा अलिकति सामान, कपडा तलमाथि भयो भने 'यस्तै हुन्छ छोरीको कोठा?' भनेर प्रश्न गरिन्छ। सधैंभरि सबै कुरा मिल्दैन, समेटिँदैन। यसमा लैंगिकताले खै के भूमिका खेल्छ, थाहा छैन! पति-पत्नी दुवै अफिसबाट फर्किएपछि भान्साको जिम्मा पत्नीलाई नै जान्छ। पितृसत्ताको संरचनाले पत्नीसँगै घरको काम गर्ने पतिलाई जोइटिङ्ग्रे भनि गिज्याउँछ। यी त जीवन चलाउने सीप हुन्, लिंगका आधारले विभाजन गरिदिएपछि कसरी चल्छ? छोरालाई यो घर तेरो हो भनिन्छ र छोरीलाई तँ त बिहे गरेर अर्कै घर जाने हो भनेर बारबार याद दिलाइन्छ। 'यही त हो नि बुढेसकालको सहारा, तँ त बिहे गरेर गइहाल्छेस्' धेरै पटक सुन्दै आएका छौँ हामी छोरीले। छोरा हुँदाहुँदै बाबु-आमा छोरीसँग बसेको रुचाउँदैन पितृसत्ता। छोरीले बुबा-आमा पाल्ने इच्छा राखे 'जिउनी खान' भन्ने आरोप लाग्छ। छोरा हुँदाहुँदै छोरीले बुबा-आमा पालेका पनि छन् तर छोराले नहेरेपछि। छोराले पालेन भने मात्रै छोरीसँग बस्ने हो भनिन्छ। के छोरी विकल्प मात्रै? छोराको कर्तव्य हो रे बुबा-आमा पाल्नु। पितृसत्ता! मेरो पनि कर्तव्यको खातामा यो कर्तव्यलाई वैकल्पिक नभई प्राथमिक कर्तव्यमा राखिदेऊ न। हाम्रो संस्कृतिमा छोरीलाई अन्माएर ज्वाइँका घर पठाइन्छ। पितृसत्ताले छोरालाई बुबा-आमा पाल्नुपर्छ भनेर त सिकायो तर सासु-सासुरा पनि पाल्न सक्नुपर्छ भनेर सिकाएन। आफ्ना छोरालाई नसिकाएको कुरा अरुका छोरा (ज्वाइँ) ले पनि सिकेका छैनन् भनेर विवाहित छोरीसँग बस्न हिचकिचाउँछ पितृसत्ता। छोरीसँग बस्न सजिलै स्वीकार नगर्नुको कारण यही हुनुपर्छ। छोरीको घरको पानी पनि बुबा-आमाले पिउनु हुँदैन भन्ने मान्यता छ हामीकहाँ। विवाहपछि छोरी पराई हुन्छे भनेर छोरीलाई पराईको छाप लगाइन्छ। छोरीलाई बुबा-आमाबाट छुट्याइन्छ। घरको, मामाघरको हजुरबुबा/आमासँगै बस्ने नातिनीको चाहनालाई, 'मामाहरु हुँदाहुँदै उहाँहरु यहाँ बस्नु हुँदैन, समाजले दश थरी कुरा गर्छ' भनेर बुबा-आमाले रोकिदिनु हुन्छ। काबिलियत हुँदा-हुँदै केवल महिला भएको कारणले कार्यस्थलमा सहायक मात्र भएका महिलालाई सोधौँ न, कति डरलाग्दो छ यो पितृसत्ता भनेर! महिला जति ‘उप’मै सीमित भएको पछिल्लो स्थानीय तह चुनावलाई हेरौँ अनि आकलन गरौँ पितृसत्ताको दमनको। तत्कालीन उप-सभामुख शिवमाया तुम्बाहाङ्फेलाई काबिलियत हुँदाहुँदै पनि सभामुख नबनाइनु पनि पितृसत्ताको वलिष्ठ उदाहरण हो। तत्कालीन प्रधानन्यायाधिस सुशीला कार्कीमाथि महा-अभियोग लगाइनु पितृसत्ताको पराकाष्ठा थियो। कानुनले तोकेको ३३% महिला सहभागिताको भागिदार हुन कतिलाई घरको पितृसत्ता बाधक बन्यो त कतिलाई सहरको। सन् २०१८ मा अनुपमा खुन्जेली नेपालको बैंकिङ क्षेत्रको पहिलो महिला सिइओ, २०२१ मा उपासना पौडेल इन्स्योरेन्सको पहिलो महिला सिइओमा नियुक्त हुनुभयो। योभन्दा अघि यस्ता उपलब्धि केले रोक्यो? महिला हुन् या पुरुष, सबैसँग त्यो क्षमता हुँदैन पनि। तर पितृसत्ताले कतिका सिइओ बन्ने सम्भावना, उत्साह, चाहना किल्चिएन भनेर नभन्न सकिन्न। अहिलेको परिवेश हेर्दा यस्ता विभेद केही कम भए जस्तो, पितृसत्ता केही मत्थर भए जस्तो देखिन्छ तर छोरीलाई 'तँ त मेरो छोरा होस्' भनेर पितृसत्ताले नयाँ रुप लिँदै छ। हरेक पक्षमा सुधार र परिवर्तन भइरहेका छन् तर पितृसत्ता डेग चलेको छैन। अब त थाकेनौँ र पितृसत्ता? बस! ‘इनफ इज इनफ!’ अब अघि बढ्न देऊ, सक्छौ समयका साथ अघि बढ, सक्दैनौ भने ‘जस्ट रिल्याक्स’। https://www.setopati.com/blog/...
ktmpost · Jun 13, 2021 9:43 AM · 3,091 views
कट र पेस्ट संगै तपाईको घरमा कस्तो चलन छ र किन हुँदै छ पनि आफना मनतब्य राक्नु भएको भए यो धागोले नौलो रुप पाउने थियो जस्तो लाग्छ |
Logan · Jun 14, 2021 3:44 PM
Suruchi ra Smriti ji ko lekh samayasandharbhik chha. Kharra padhda Ahile pani yesto chha ra jasto lagla, tara thulo sahar haruka simit pariwarma bahek aruko yethartha yehi nai ho. Suruchi ra Smriti jastai yo prabriti lai prasna garne ra prabriti biruddha paila chalne yuwa yuwati nai praribartan ka dyotak hun.
chicagoan · Jun 14, 2021 4:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion